काठमाडौं, वैशाख ०८। ग्यालेरी एमक्युबले २५ अप्रिल २०२५ (शुक्रबार) बाट “MADE OF SAME” शीर्षकको विशेष कला प्रदर्शनीको आयोजना गर्ने भएको छ। यो प्रदर्शनी एमक्युब इन्टरनेशनल आर्टिस्ट्स रेसिडेन्सी २०२५ अन्तर्गत नेपाल आएकी अमेरिकी समकालीन कलाकार लिन्डी बिशपका कलाकृति समेटिएको हो।
प्रदर्शनीको उद्घाटन कार्यक्रम वैशाख १३ गते साँझ ५ बजे ग्यालेरी एमक्युब, ललितपुरमा हुनेछ। कार्यक्रम २५ अप्रिलदेखि २९ अप्रिलसम्म प्रत्येक दिन बिहान ११ बजे देखि साँझ ७ बजे सम्म सर्वसाधारणका लागि खुला रहनेछ।
आर्टिस्टको परिचय र कला दृष्टिकोण
लिन्डी बिशप एक आत्मशिक्षित समकालीन इम्प्रेशनिस्ट चित्रकार हुन्, जसले ग्रामीण भूदृश्यलाई केन्द्र बनाएर अमेरिका तथा विश्वका विभिन्न भूगोलहरूमा काम गरेकी छन्। उनको चित्रशैलीले यथार्थवाद र अमूर्तताको सीमालाई चुनौती दिँदै रंग र आकारमा समकालीन अभिव्यक्ति दिन्छ। उनले चित्रमार्फत स्थानीय जनजीवन, प्रकृति, संस्कार र आशा झल्काउने प्रयास गर्छिन्।
नेपालमा रेसिडेन्सीका क्रममा बिशप उद्यमशीलता, हिमाली भूगोल, बालबालिका, रंग, ढाका कपडाका ढाँचाहरू र यहाँको जीवनसंघर्षबाट प्रभावित भएको बताइएको छ। उनले ग्यालेरी एमक्युब स्टुडियोमै आफ्नो कलाकृतिहरू निर्माण गरिरहेकी छन्, जुन यस प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछ।
उद्घाटनमा सहभागिताको निम्तो
ग्यालेरी एमक्युबका संस्थापक निर्देशक तथा बहु-आयामिक दृश्यकलाका कलाकार मनीष लाल श्रेष्ठले सबैलाई यो विशेष कला प्रदर्शनीमा सहभागी भई अन्तर्राष्ट्रिय कलाकारको सिर्जनाशीलताको साक्षी बन्न आग्रह गरेका छन्।
उनले भनेका छन्, “हामी सबैलाई एउटै धागोले बाँधेको छ भन्ने भावनालाई ‘MADE OF SAME’ प्रदर्शनीले उजागर गर्नेछ। यसले कला र मानवता बीचको गहिरो सम्बन्ध झल्काउँछ।”
प्रदर्शनीले नेपालको कला क्षेत्रलाई अन्तर्राष्ट्रिय ढंगले जोड्ने र सौन्दर्य, विविधता तथा सहानुभूतिका भावनाहरू फैलाउने अपेक्षा गरिएको छ।