‘मिस एसईई इटहरी’को पाँचौं संस्करणको पहिलो अडिसन सम्पन्न, २० किशोरीको सहभागिता — OSNepal

‘मिस एसईई इटहरी’को पाँचौं संस्करणको पहिलो अडिसन सम्पन्न, २० किशोरीको सहभागिता

Kesh Karki (USA) April 21, 2025 0

इटहरी । इटहरीमा एसईई परीक्षा सकेर बसेका किशोरीहरूलाई लक्षित गर्दै आयोजना गरिएको ‘मिस एसईई इटहरी’ प्रतियोगिताको पाँचौं संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ। ओपन स्पेस मिडिया प्रालिको आयोजनामा भएको पहिलो अडिसनमा इटहरी तथा वरपरका २० जना किशोरीहरूले सहभागिता जनाएका छन्।

इटहरीस्थित फुडसाला क्याफेमा सम्पन्न अडिसनमा निर्णायकको भूमिकामा मनिष गिरी, जेनिशा राई, शुभेक्षा कार्की र प्रियंका थापा रहेका थिए। प्रतियोगिताका निर्देशक तथा आयोजक संस्था ओपन स्पेस मिडियाका सञ्चालक सरोज श्रेष्ठका अनुसार दोस्रो तथा अन्तिम अडिसन यही वैशाखको तेस्रो सातामा आयोजना गरिनेछ।

सौन्दर्यसँगै बौद्धिक प्रतिभा विकासमा जोड

निर्देशक श्रेष्ठका अनुसार ‘मिस एसईई इटहरी’ सौन्दर्यमात्र नभई बौद्धिक र प्रतिभामूलक विकासलाई पनि केन्द्रमा राखिएको प्रतियोगिता हो। प्रतियोगिताको अन्तिम अडिसनपछि एक महिनासम्मको विशेष तालिम कार्यक्रम सञ्चालन हुनेछ।

तालिम अवधिमा सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्‍याम्प वाक, मेकअप र फोटोग्राफीसम्बन्धी सीपहरू अनुभवी प्रशिक्षकहरूमार्फत सिक्नेछन्।

विजेतालाई छात्रवृत्ति र उपहारहरू

प्रतियोगिताका विजेताले प्लस टु सम्मको पूर्ण छात्रवृत्तिसहित विभिन्न उपहार प्राप्त गर्नेछन्। उपविजेताहरूका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यसअघि प्रतियोगिताका चार संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। प्रतियोगितामार्फत युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूलाई सामाजिक उत्तरदायित्वमा सहभागी गराउने उद्देश्य रहेको आयोजकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर