काठमाडौं । गत चैत १५ गते काठमाडौं महानगरपालिका–३२ स्थित तीनकुनेको खुला चौरमा भएको आगजनी र तोडफोड घटनामा संलग्न थप एक जना व्यक्ति पक्राउ परेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा आयोजित प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्ति धादिङ जिल्ला सिद्दलेक गाउँपालिका–१ निवासी ३४ वर्षीय सन्तोष राजावादी (उर्फ सन्तोष सिलवाल) रहेको प्रहरीले जनाएको छ। उनले प्रदर्शनको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीजस्ता आपराधिक क्रियाकलापमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जस्ता आपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेको छ।