काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) पूर्वाधार विस्तारमा सक्रिय एमएडब्ल्यू वृद्धिले देशभर १०० भन्दा बढी इभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याउँदै नयाँ माइलस्टोन पार गरेको छ। कम्पनीले यो ऐतिहासिक उपलब्धि विशेष समारोहको आयोजना गरेर मनाएको छ, जसमा इभी उद्योगका प्रमुख व्यक्तित्वहरू, साझेदारहरू र प्रयोगकर्ताहरू सहभागी थिए।
उक्त समारोहमा केक काटेर उत्सवको औपचारिक सुरुवात गरिएको थियो। कार्यक्रममा एमएडब्ल्यू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्ल्यू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, र एमएडब्ल्यू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्टलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले नेपालमा हरित र स्वच्छ भविष्यप्रतिको साझा प्रतिबद्धतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
१००+ स्टेशन, देशभरका यात्रा सहज
एमएडब्ल्यू वृद्धिले काठमाडौं, पोखरा, विराटनगर, चितवनजस्ता सहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुराजस्ता दुर्गम क्षेत्रमा समेत सीसीएस२ प्रकारका ४० किलोवाट र ६० किलोवाट क्षमताका डीसी फास्ट चार्जरहरू जडान गरेको जनाएको छ। यसले इभी चालकहरूलाई देशभर यात्रा गर्दा सहज र भरपर्दो सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्यलाई पुष्टि गर्छ।
हरित भविष्यप्रतिको प्रतिबद्धता
कार्यक्रममा बोल्दै एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले भने, “यो केवल नम्बरको कुरा होइन; यो नेपालको हरित भविष्यप्रतिको हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो। बढ्दो नेटवर्कमार्फत हामी नेपालीहरूलाई आत्मविश्वासका साथ विद्युतीय सवारी अपनाउन सक्षम बनाउँदैछौं। र यो त केवल सुरुवात हो।”
एमएडब्ल्यू वृद्धिको यो पहल विद्युतीय यातायातलाई लोकप्रिय बनाउँदै पूर्वाधार विकासमार्फत स्वच्छ, हरित र दिगो भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ। निकट भविष्यमा कम्पनीले थप स्थानहरूमा चार्जिङ स्टेसन विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।