काठमाडौँ – खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको उल्लेख गर्दै कर्णाली अब पछाडि नपर्ने स्पष्ट संकेत गर्नुभएको छ।
कर्णाली प्रदेशको जुम्ला जिल्लामा अवस्थित कर्णाली प्राविधिक शिक्षालय तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलीगाढ खानेपानी आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री यादवले, “आजको दिन दुर्गम तथा सौन्दर्यले भरिपूर्ण कर्णालीको मुटु, जुम्ला आइपुगेको छु । कर्णाली अब पिछडिने छैन । सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति यहाँ छ,” भन्नुभयो।
उहाँले कर्णालीका विद्यार्थी तथा जनसमुदायले लामो समयदेखि भोग्दै आएका खानेपानी लगायतका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै जुम्लाको कठोर भौगोलिक बनोटकाबीच पनि यहाँका जनताको आँट, साहस र सम्भावनाले आफूलाई गहिरो प्रेरणा दिएको बताउनुभयो।
“तपाईंहरुको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको छ । कर्णालीवासीको उज्यालो भविष्यका लागि सँगै सहकार्य गरौँ,” मन्त्री यादवले जोड दिनुभयो।
वास सम्मेलनमा सहभागी हुन तथा खानेपानी क्षेत्रका समस्या र समाधान पहिचान गर्न मन्त्री यादवका साथ मन्त्रालयकी सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठलगायतको टोली जुम्ला पुगेको हो।
खानेपानी मन्त्रालयको टोलीले आयोजनाहरूको प्रगति मूल्याङ्कन गर्नुका साथै आगामी दिनमा आवश्यक नीति तथा कार्यक्रम निर्माणका लागि स्थानीय अवस्थाको अध्ययन गरिरहेको छ।