पोखरा । पोखरास्थित चार सृजनात्मक संस्थाहरू अनुपम म्युजिक, पोखरा कला केन्द्र, कर्णप्रिय सङ्गीतालय र एभरेस्ट आर्ट नेपालले संयुक्त रूपमा सञ्चालन गरेको उद्घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न भएको छ। विद्यालयको वार्षिक परीक्षा सकेर फुर्सदमा बसेका विद्यार्थीहरूका लागि लक्षित गर्दै उक्त तालिम सञ्चालन गरिएको हो।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा सम्पन्न तालिम समापन समारोहका प्रमुख अतिथि हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले तालिमले बालबालिकाको प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई सही दिशा र समाजसँग जोड्ने माध्यम भएको धारणा व्यक्त गरे। फुर्सदको समय सिर्जनात्मक रूपमा प्रयोग गर्दा पढाइमा पनि सकारात्मक प्रभाव पर्ने उनले बताए।
कार्यक्रममा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराकी प्रमुख शान्ति गुरुङ, र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, फेवा टेलिभिजनकी प्रशासन प्रमुख रोजी श्रेष्ठ, कवि तथा प्रतिभा माविका सहायक प्रअ प्रदीप खनाल, शान्तिनिकेत माविका सहायक प्रअ यदुविलास भुर्तेल, हिमालयन बोर्डिङ स्कुलका अध्यक्ष भोजराज बराललगायतले शुभकामना मन्तव्य राखेका थिए।
तालिमका प्रशिक्षकहरूमा उद्घोषणतर्फ अनुपम म्युजिकका अनुराग अधिकारी, नृत्यतर्फ पोखरा कला केन्द्रका राहुल थापा मगर, सङ्गीततर्फ कर्णप्रिय सङ्गीतालयका करण तामाङ, र चित्रकला तर्फ एभरेस्ट आर्ट नेपालका केशर गुरुङ रहेका थिए। समापन समारोहमा प्रशिक्षार्थीहरूले तालिमका क्रममा सिकेका प्रस्तुतीहरू समेत देखाएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य कर्णप्रिय सङ्गीतालयका करण तामाङले गरेका थिए भने सञ्चालन पोखरा कला केन्द्रका राहुल थापा मगरले गरेका थिए। सोही अवसरमा कर्णप्रिय सङ्गीतालयद्वारा प्रकाशित नयाँ वर्ष २०८२ को भित्तेपात्रो पनि विमोचन गरिएको थियो।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीका अनुसार, यस किसिमको संयुक्त तालिमलाई भविष्यमा पनि निरन्तरता दिइनेछ।