‘मनको बाँध’ टेलिचलचित्रमा जापानी अभिनेत्री माहोको अभिनय, वैशाख ६ गतेदेखि प्रशारण — OSNepal

‘मनको बाँध’ टेलिचलचित्रमा जापानी अभिनेत्री माहोको अभिनय, वैशाख ६ गतेदेखि प्रशारण

Kesh Karki (USA) April 19, 2025 0

काठमाडौं। नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोको अभिनय देख्न पाउने भएको छ। विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको चर्चित सिरिज ‘अफलाइन लभ’ मा अभिनय गरेर दर्शकको मन जितेकी माहो अब नेपाली दर्शकमाझ नयाँ भूमिकामा प्रस्तुत हुन लागेकी हुन्।

अभिनेत्री माहो फेसन र डिजिटल दुनियामा समेत चर्चित नाम हुन्। उनले विश्वकै प्रतिष्ठित पेरिस फेसन विक मा मोडलको रूपमा सहभागी भइसकेकी छन्। अब उनले अभिनय गरेको नेपाली टेलिचलचित्र ‘मनको बाँध’ को नयाँ अंक यही वैशाख ६ गते शनिबार साँझ ७ बजे फोकस पिक्चर्स युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छ।

‘कोठा भाडामा बस्ने सामान्य नेपाली परिवारको कथामा आधारित टेलिचलचित्रमा अन्तर्राष्ट्रिय कलाकारको सहभागिता हुनु निकै रोचक र गर्वको कुरा हो,’ टेलिचलचित्रका निर्देशक प्रदीप खड्गीले बताए। निर्देशक खड्गीले यस टेलिचलचित्रमार्फत नेपाली पर्दामा विदेशी कलाकारहरूको डेब्यु गराउने प्रयासलाई फरक प्रस्तुतीका रूपमा लिएका छन्।

निर्देशक खड्गीले यसअघि ‘कीर्तिपुर: द लिजेन्ड अफ कीर्तिलक्ष्मी’, ‘अपीच्य’, ‘हिमआँधी’ जस्ता ऐतिहासिक, थ्रिलर तथा बहुभाषी चलचित्र निर्देशन गरिसकेका छन्।

‘मनको बाँध’ मार्फत नेपाली दर्शकले अन्तर्राष्ट्रिय कलाकारसँगको अभिनय समन्वय अनुभव गर्न पाउनेछन् भन्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर