कञ्चनपुरमा विपद्जन्य घटना न्यूनीकरणका लागि नेपाली सेनाको ‘कृत्रिम नमूना’ अभ्यास — OSNepal

कञ्चनपुरमा विपद्जन्य घटना न्यूनीकरणका लागि नेपाली सेनाको ‘कृत्रिम नमूना’ अभ्यास

LC (KTM) April 18, 2025 0

कञ्चनपुर, ५ वैशाख : विपद्जन्य घटना न्यूनीकरणका लागि नेपाली सेनाले आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कृत्रिम नमूना अभ्यास कार्यक्रम आयोजना गरेको छ ।नेपाली सेनाको भगतपुरस्थित श्रीदल गुल्मले जिल्लास्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तीनदिने तालिमपश्चात नमूना कृत्रिम अभ्यास कार्यक्रम आयोजना गरेको हो । कृत्रिम नमूना अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्काउट, रेडक्रसकर्मी, एनसिसी क्याडेट, स्थानीय तहका विपद् शाखाका कर्मचारीलगायतको सहभागिता थियो ।

नमूना कृत्रिम अभ्यासका क्रममा आगलागी नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानीका बारेमा अभ्यास गरेर देखाइएको नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्ण भट्टले बताउनुभयो । “खाना पकाउने ग्यास चुहावट भई हुने आगलागी नियन्त्रण गर्न कुन निकायमा खबर गर्ने, के–के सावधानी अपनाउने, नियन्त्रण कसरी गर्ने भन्ने कुरा नमूना अभ्यासका क्रममा देखाइएको छ”, उहाँले भन्नुभयो, “आगलागी भई घरभित्र थुनिएका व्यक्तिको सकुशल उद्धार गर्ने तरिकाबारे पनि अभ्यासका क्रममा देखाइएको छ ।”

आगलागीमा परेर घाइते भएका व्यक्तिलाई प्राथमिक उपचार गरी अस्पताल लैजाने प्रबन्ध मिलाउने कुरा अभ्यासका क्रममा देखाइएको उहाँको भनाइ छ । ग्यास लिकेज भएमा कसरी बन्द गर्ने र सुरक्षित हुने भन्नेबारे पनि नमूना अभ्यास गरिएको छ ।

यसअघिको दुई दिन श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेलले भूकम्पीय जोखिम, कालिरक्षा गण (ई) कैलालीका उपसेनानी विदेश बजगाईँले सर्पदंश, जमदार नृपबहादुर रोकायाले आगलागीसम्बन्धी जानकारी दिनुभएको थियो ।

तालिममा सहभागीलाई विपद्का विविध पक्षबारे जानकारी दिने कार्यसँगै जोगिने उपायका बारेमा बताइएको थियो । तालिमका सहभागीलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जैविक विविधतामा देश धनी भएको उल्लेख गर्नुहँुदै जहाँ बढी विविधता हुन्छ, त्यहाँ विपद् बढी हुनु स्वाभाविक भएको बताउनुभयो । “विपद् आउँछ भन्ने थाहा छ”, उहाँले भन्नुभयो, “कहिले आउँछ थाहा हुँदैन, विपद्को प्रतिकार्यमा सबैले आ–आफ्नो स्थानबाट जुट्नुपर्ने हाम्रो अभिभारा छ ।”

तालिममा सिकेका कुरा समुदायमा सिकाएर सशक्त बनाउन उहाँले आग्रह गर्नुभयो । नगर उपप्रमुख पन्तले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । “विपद् जतिबेला पनि आउन सक्छ”, उहाँले भन्नुभयो, “सूचना दिएर आउँदैन, हामीले जहिले पनि पूर्वतयारी गरेर बस्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर