काठमाडौं, बैशाख – जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो संगठन सुदृढीकरण अभियान बैशाख महिनासम्म सम्पन्न गर्ने तयारी गरेको छ। प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, गत भदौदेखि सञ्चालनमा आएको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ अन्तर्गत स्थानीय तहदेखि प्रदेश समितिसम्मको अधिवेशन बैशाखभित्रै सम्पन्न गर्ने लक्ष्य तय गरिएको हो।
गत वर्षको जेठ मसान्तमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेको जसपाले एक वर्षभित्र मातहतका सबै समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुरूप अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा वडा, पालिका र जिल्ला समितिको अधिवेशन सम्पन्न भइसकेको र अब पहिचानमा आधारित प्रदेश तथा राष्ट्रिय समितिको अधिवेशन बैशाख मसान्तसम्म सम्पन्न गरिने योजना रहेको बस्नेतले जानकारी दिए।
पार्टीको केन्द्रीय समितिको हालै सम्पन्न बैठकमा अभियानमा संलग्न केन्द्रीय अभियन्ताहरूको प्रतिवेदनको समीक्षा गरी अभियानलाई बैशाख मसान्तसम्म निरन्तरता दिने निर्णय गरिएको थियो। सो अवसरमा पार्टी प्रवेश कार्यक्रम, सदस्यता नवीकरण तथा संगठनात्मक गतिविधिमा उल्लेखनीय वृद्धि भएको समेत जानकारी दिइएको छ। जसपा नेपालका सबै प्रदेशमा विभिन्न तहका समितिको अधिवेशन पनि जारी रहेको जनाइएको छ।