काठमाडौं – दशरथ रंगशालामा बिहीबार सम्पन्न एनसेल नेपाल सुपर लिग २०२५ अन्तर्गतको २१ औं खेलमा एफसी चितवनले धनगढी एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। खेलको सुरुवातमै धनगढी एफसीले अग्रता लिएको थियो। खेलको ७औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए। तर, चितवनले छिट्टै खेलमा फर्कने मौका पायो। १४औं मिनेटमा एफसी चितवनका नोडिर माभ्लोनोभले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा, ४५+१ मिनेटमा जया गुरुङले गोल गर्दै एफसी चितवनलाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफमा पनि चितवनको खेलमा दबदबा कायम रह्यो। खेलको ५१औं मिनेटमा धनगढी एफसीका अमृत श्रेष्ठबाट आत्मघाती गोल (OG) भएपछि चितवनले ३–१ को स्पष्ट अग्रता लियो, जुन अन्तिम सम्म कायम रह्यो। वर्षायुक्त मौसम र १३ डिग्री तापक्रमबीच खेल भएको थियो भने करिब ५,७२५ दर्शकहरूले प्रत्यक्ष अवलोकन गरेका थिए।
उक्त खेलमा एफसी चितवनका नोडिर माभ्लोनोभ प्लेयर अफ द म्याच घोषित भए भने जया गुरुङलाई एनर्जेटिक प्लेयर अफ द म्याचको उपाधि प्रदान गरिएको थियो।