वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको आग्रह — OSNepal

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको आग्रह

LC (KTM) April 17, 2025 0

काठमाडौँ-जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री एवं प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आमनागरिकमा आग्रह गर्नुभएको छ । पछिल्लो केही दिनयतादेखि वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व भइरहेकाले उहाँले सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकलाई आग्रह गर्नुभएको हो ।

ऐतिहासिक क्रान्तिको सहर वीरगञ्जको मौलिक पहिचान धार्मिकस्थल, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उहाँले उल्लेख गर्नुभएको छ ।

मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहिआएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखापर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादका माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको बताउनुभएको छ ।

केही दिनदेखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पुर्‍याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोडफोड गर्ने, आगो लगाउने वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुनबमोजिम काम गर्नुपर्नेमा जोड दिइएको छ ।

मन्त्री यादवले भन्नुभएको छ, “विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरी शान्ति स्थापित गर्ने प्रयासमा छु । वीरगञ्ज क्षेत्रका सबै नागरिकसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र आग्र गर्दछु । म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर