काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ईसेवा प्रणाली ह्याक गरेर करिब १ करोड २ लाख रुपैयाँ चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ स्थायी घर भई हाल काठमाडौं अनामनगर बसोबास गर्दै आएका २२ वर्षीय राहुल बुढा रहेका छन्।
प्रहरीका अनुसार उनले “The Alert”, “AT Alert” जस्ता फिसिङ लिंक प्रयोग गरी एसएमएसमार्फत नागरिकहरूलाई ‘खाता निलम्बन हुन लागेको’ भनी डर देखाई लिंक खोल्न लगाउने गर्थे। ती लिंकमार्फत ईसेवाको प्रयोगकर्ता विवरण चोरी गरी अनधिकृत पहुँच स्थापित गरेर ४,००० भन्दा बढी प्रयोगकर्ताको मौज्दात रकम Pashupati Global Innovation Private Limited को मर्चेन्ट खातामा ट्रान्सफर गरिएको थियो।
यसै प्रक्रियाबाट चोरी गरिएको रकमको कुल मूल्य १ करोड २ लाख रुपैयाँ रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अभियुक्तलाई २०८२ साल वैशाख २ गते कालीमाटीबाट पक्राउ गरिई जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौंमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुझाइएको हो।
प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार यस घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूबारे थप अनुसन्धान जारी छ।