अटवामा नेपाली सांस्कृतिक झलक: ‘नेपालीले माया मार्‍यो बरिलै’ गीतमा मन्त्रमुग्ध बन्यो समारोह — OSNepal

अटवामा नेपाली सांस्कृतिक झलक: ‘नेपालीले माया मार्‍यो बरिलै’ गीतमा मन्त्रमुग्ध बन्यो समारोह

Kesh Karki (USA) April 15, 2025 0

अटवा, क्यानडा — नयाँ वर्ष २०८२ को अवसरमा अटवास्थित नेप्लिज क्यानेडियन एसोसिएसन अफ अटवा (NCAO) ले आयोजना गरेको वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै मातृभूमिको झल्को दिलायो।

ब्रिटानिया पार्कस्थित सभा हलमा सम्पन्न कार्यक्रममा मादले गोठाले र्‍याप्सडी ब्यान्डका कलाकार उत्तम भण्डारी र दिलीप दुलालले जनकवि केशरी धर्मराज थापाको कालजयी गीत ‘नेपालीले माया मार्‍यो बरिलै’ प्रस्तुत गर्दा उपस्थित दर्शक भावविह्वल बने। झन्डै सात दशकअघि नेपालीहरू रोजगारीका लागि भारत र दक्षिण एसियाका विभिन्न भूभागमा पुग्ने अवस्थालाई चित्रण गर्ने उक्त गीत आजको प्रवासी जीवनसँग अझ सजीव रूपमा जोडिएको देखियो।

सांगीतिक प्रस्तुति अन्तर्गत नवीन गौतम र दिलीप दुलालले स्व. पुष्प नेपाली तथा रुबी जोशीको ‘शितलु माथि नि शितलु भयो नि’ तथा झलक मान गन्धर्वको ‘तिम्रो नै माया लाग्दछ साइँली’ गीत समेत प्रस्तुत गरेका थिए। उनीहरूलाई डा. अजय विष्ट, डा. जगदीश घिमिरे, दीपक श्रेष्ठलगायतले विभिन्न वाद्ययन्त्रमा साथ दिएका थिए।

कार्यक्रमको पहिलो चरणमा एनसीएओको साधारण सभा सम्पन्न गरिँदै नयाँ बोर्ड सदस्यहरूको चयन पनि गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको जगेर्ना गर्न संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे। उनले युवा तथा बालबालिकालाई समावेश गरेर कार्यक्रम सञ्चालन गर्नु प्रशंसनीय भएको बताए। राजदूत पौड्यालले संस्थाको वार्षिक प्रकाशन ‘अटवा चौतारी’ को नयाँ अङ्कको पनि विमोचन गरे।

सम्पदा र सामुदायिक समर्पण

कार्यक्रममा नेपाली सम्पदा केन्द्र अटवा का अध्यक्ष डा. कालिदास सुवेदीले हाल केन्द्रले बारहेभन क्षेत्रमा भाडाको घरमा धार्मिक तथा सामुदायिक गतिविधि सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दशकभित्र अटवामै नेपाली मन्दिर तथा बहुउद्देश्यीय केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको बताए।

राजनीतिमा नेपाली प्रतिनिधित्व

उक्त अवसरमा अटवा वेस्ट नेपियन क्षेत्रबाट ग्रिन पार्टीको तर्फबाट सङ्घीय सांसद पदका उम्मेदवार प्रशान्त ढकालले पनि उपस्थिति जनाउँदै नेपाली समुदायको हकहित, वातावरणीय मुद्दा, सुपथ आवास, र दक्ष जनशक्तिको रोजगारीलाई प्राथमिकता दिँदै आफ्नो अभियानबारे जानकारी गराए।

कार्यक्रममा एनआरएनए क्यानडाका प्रज्वल कार्की, एनसीएओकी बोर्ड सदस्य मेनुका चिमोरिया, स्वस्तिका शर्मा (नृत्य प्रस्तुति), इदिका र श्रीदिका (सांस्कृतिक सञ्चालन), र अन्य सहभागीहरूले पनि मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए।

सञ्चालन र स्वागत

कार्यक्रमको स्वागत मन्तव्य मोहन बस्नेतले राखेका थिए भने युवा व्यवसायी नारायण क्षेत्रीले संचालन गरेका थिए।

एनसीएओद्वारा आयोजित यो कार्यक्रम अटवास्थित नेपाली समुदायको कला, संस्कृति र एकताको प्रतिविम्ब बन्न सफल भएको सहभागीहरूको धारणा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर