अमेरिकामा लेखक पशुपति घिमिरेका दुई पुस्तक सार्वजनिक — OSNepal

अमेरिकामा लेखक पशुपति घिमिरेका दुई पुस्तक सार्वजनिक

Kesh Karki (USA) April 15, 2025 0

काठमाडौं । लेखक तथा पत्रकार पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक ‘Wandering Words’ र ‘Three Dimensions of Buddhism’ अमेरिकाको भर्जिनियामा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

रिचमन्ड, भर्जिनियामा सम्पन्न पुस्तक लोकार्पण कार्यक्रममा अमेरिकी सिनेटर स्कायलर टी. भ्यान भाल्केनबर्ग, लेखक घिमिरे, नेपाली समुदायका अध्यक्ष चन्द्र मल्ल, उपाध्यक्ष असीम राजभण्डारी, कोषाध्यक्ष रूकेश पोख्रेल, न्याकका सदस्य घनेन्द्र लामिछाने, र समाजसेवी रोशन घिमिरेको उपस्थिति रहेको थियो।

‘Wandering Words’ १८ वटा यात्रा निबन्धहरूको संग्रह हो, जसले पाठकलाई एसिया, युरोप र उत्तर अमेरिकाका १० देशहरूको यात्रामा लैजान्छ। लेखकका अनुसार पुस्तकले भूगोलसँगै इतिहास, परम्परा, धर्म, भाषा, कला, साहित्य, र सभ्यताहरूको समृद्ध मिश्रण प्रस्तुत गर्छ। पुस्तकमा देवकोटा र घिमिरेदेखि शेक्सपियर, सुकरात र सोफोक्लिससम्मका प्रसङ्ग समावेश छन्।

यससँगै सार्वजनिक भएको अर्को कृति ‘Three Dimensions of Buddhism’ लेखक घिमिरेकै अघिल्लो नेपाली पुस्तक ‘बुद्धवादका तीन आयाम’ को अंग्रेजी संस्करण हो। उक्त पुस्तकमा बौद्ध धर्मका सिद्धान्तहरू, दर्शन, इतिहास, ध्यान विधिहरू, बौद्ध विश्वविद्यालयहरू र विभिन्न बौद्ध सम्प्रदायहरूको गहिरो विश्लेषण गरिएको छ।

पुस्तकमा चार आर्य सत्य, अष्टाङ्गिक मार्ग, प्रतीत्य समुत्पाद, समथा र विपश्यनासहित ध्यानका विविध पक्ष, महायान र वज्रयान बौद्ध दर्शनका गहिरा आयाम, र पाली त्रिपिटकसहित महायान साहित्यको सिंहावलोकन समावेश छ। बौद्ध इतिहास खण्डमा विभिन्न बौद्ध सम्मेलनहरू र एसियाका मुलुकहरूमा धर्मको प्रसारसम्बन्धी तथ्यहरू समेटिएका छन्।

कार्यक्रममा सिनेटर भाल्केनबर्गले यस्ता विचारोत्तेजक कृतिहरू प्रकाशित गरेकामा लेखक घिमिरेलाई धन्यवाद दिँदै नेपाली समुदायप्रति पनि कदर व्यक्त गरेका थिए। साथै, उनले रिचमन्डस्थित नेपाली कम्युनिटीलाई राज्य सरकारको तर्फबाट कदरपत्रसमेत प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर