काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा उम्मेदवार बन्ने प्रक्रिया सबैका लागि खुला गरिएको छ। सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिको आइतबार सम्पन्न बैठकले संघको लोकतान्त्रिक पुनर्संरचनाका लागि सबै प्रतिनिधिहरूलाई उम्मेदवार बन्न पाउने व्यवस्था गरेको हो।
उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले, “संस्थालाई पूर्ण लोकतान्त्रीकरण गर्दै नयाँ विधान निर्माण गर्ने तयारीमा रहेका छौं। त्यसैले सबै डेलिगेट्सले आइसिसीको कुनै पनि पदमा उम्मेदवारी दिन पाउने गरी यो प्रक्रिया खुला गरिएको हो,” बताइन्।
उम्मेदवारीका लागि डेलिगेट्सले www.nrnahlc.com वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ। डेलिगेट्स बन्ने आवेदनको अन्तिम म्याद २०२५ अप्रिल २२, राति १२ बजे (नेपाली समय) सम्म तोकिएको छ। यो समयावधिपछि थप समय नदिइने गुरुङले स्पष्ट पारिन्।
बैठकमा विभिन्न उपसमितिहरूका संयोजकहरूले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए भने अब समितिको ध्यान डेलिगेट्स प्रमाणीकरण प्रक्रियातर्फ केन्द्रित हुने बताइएको छ।
यसबाहेक, बैठकले ६ क्षेत्रका लागि एक–एक जना उप क्षेत्रीय संयोजक (डीआरसी) थप गर्ने निर्णय पनि गरेको छ। साथै, संघका पूर्व अध्यक्ष देवमान हिराचनको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ। यस समितिमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिहरू पदेन सदस्य रहनेछन्।
उच्चस्तरीय समितिले खुला छलफल, संवाद र सहमतिको माध्यमबाट संस्थामा एकता कायम गर्दै आगामी २०२५ मे ३ देखि ५ गतेसम्म काठमाडौँमा प्रस्तावित एकता महाधिवेशन सफल पार्न सम्पूर्ण पक्षलाई आ–आफ्नो तर्फबाट पहल गर्न अपिलसमेत गरेको छ।