महानायक हमालले गरे १८ डी सिनेमाको रोमाञ्चक उद्घाटन — OSNepal

महानायक हमालले गरे १८ डी सिनेमाको रोमाञ्चक उद्घाटन

Kesh Karki (USA) April 14, 2025 0

काठमाडौं – राजधानीको सिटी सेन्टरमा नयाँ वर्ष २०८२ को अवसर पारेर अत्याधुनिक १८ डी प्रविधिमा आधारित सिनेमा हल सञ्चालनमा आएको छ। फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालित यो नयाँ प्रविधियुक्त सिनेमा हलको औपचारिक उद्घाटन नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले रिबन काटेर गरेका हुन्।

उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि १८ डी सिनेमाको अनुभव लिएका थिए। पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेशजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन।”

सिटी सेन्टरको तेस्रो तल्लामा अवस्थित यो सिनेमा एक पटकमा १० जना दर्शकलाई मात्र सेवा दिनेछ। यहाँ दर्शकहरूले दृश्य, ध्वनि, गति, हावा र कम्पनको संयोजनमार्फत फिल्मको वास्तविक संसारमा प्रवेश गरेको आभास पाउनेछन्।

सञ्चालक हिमाल गुरुङका अनुसार, दर्शकहरूले डायनासोरको युग, समुद्रको गहिराइ, अन्तरिक्ष युद्ध, जंगल साहसिक यात्रा जस्ता विभिन्न विषयवस्तुमा आधारित ५ देखि ३० मिनेटसम्मका फिल्महरू अवलोकन गर्न सक्नेछन्।

तीन सय रुपैयाँको टिकटदरमा सबै उमेर समूहका दर्शकहरूका लागि खुला गरिएको यो १८ डी सिनेमा काठमाडौं उपत्यकामा मनोरञ्जनको नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर