संविधानमा व्यवस्था गरिएका अधिकार पूर्ण कार्यान्वयन भए विभेद अन्त्य हुन्छ: वनमन्त्री शाही — OSNepal

संविधानमा व्यवस्था गरिएका अधिकार पूर्ण कार्यान्वयन भए विभेद अन्त्य हुन्छ: वनमन्त्री शाही

LC (KTM) April 14, 2025 0

काठमाडौँ, १ वैशाख : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको संविधानले व्यवस्था गरेका अधिकार पूर्ण कार्यान्वयनले सबैखाले विभेदको अन्त्य हुने बताउनुभएको छ ।

नेपाल–भारत दलितमैत्री सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संवैधानिक अधिकारको पालना भए कसैले पनि विभेदको पीडा भोग्नुनपर्ने बताउनुभयो । “समाजमा देखिएका विकृति, विसङ्गतीको अन्त्य गर्न, विभेदमा परेका समुदाय र वर्गलाई न्याय दिलाउन संविधानले धेरै व्यवस्था गरेको छ । त्यसको कार्यान्वयनको खाँचो छ । सरकार कानुन कार्यान्वयनमार्फत विभेद अन्त्यका लागि लागिपरेको छ”, मन्त्री शाहीले भन्नुभयो ।

संविधानले राज्यका सबै तह र निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको बताउँदै उहाँले सरकार सबै नागरिकका अधिकारको रक्षा गरी समाजलाई साझा फूलबारी बनाउने उद्देश्यका साथ अगाडि बढेको उल्लेख गर्नुभयो ।

डा भीमराव अम्बेडकरको १३४औँ जन्मजयन्ती समारोहका अवसरमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष ओमप्रकाश विश्वकर्माले दलित समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रममार्फत अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले अभियान अघि बढाउन सबै समुदायका व्यक्ति आफ्नो स्थानबाट सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर