नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाले अप्रिल १३, २०२५ मा रिचमन्डस्थित नेपाली कम्युनिटी सेन्टरमा आयोजना गरेको “नेपाली नयाँ वर्ष २०८२ ग्राण्ड मेला” भव्य रूपमा सम्पन्न भएको छ। झण्डै ३ हजारभन्दा बढी नेपालीहरूको सहभागितामा सम्पन्न यो मेलाले अमेरिका बसोबास गर्ने नेपाली समुदायलाई एकै ठाउँमा ल्याई सांस्कृतिक, सामाजिक र भावनात्मक रूपमा जोड्ने प्रयास गरेको देखिएको छ।
मेलामा चर्चित गायिका नलिना चित्रकारको गायन प्रस्तुति प्रमुख आकर्षणको रूपमा देखिएको थियो। उनले गाएका गीतहरूमा दर्शकहरू रमाउँदै नाचगानमा सहभागी भएका थिए। त्यसैगरी, विभिन्न जातजाति र समुदायका सहभागीहरूले आफ्ना परम्परागत पोशाक र नृत्यहरू प्रस्तुत गरेर नेपालभित्रको सांस्कृतिक विविधता अमेरिकामा समेत झल्काएका थिए।
मेलामा सबै प्रकारका नेपाली परिकारहरू उपलब्ध थिए, जसमा मो:म, चटामरी, सेलरोटी, नेपाली खाजा सेट आदिले सबैको मन जितेको थियो। बालबालिकाका लागि खेल्ने ठाउँ, फेस पेन्टिङ, र आर्ट गतिविधिहरूले मेलामा रमाइलो थपेका थिए। कार्यक्रममा कविता वाचन, लोक गीत, र अन्य सांगीतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएका थिए। त्यस्तै, मेलामा उल्लेखनीय मात्रामा दान संकलनसमेत गरिएको थियो।
मेलाको अर्को विशेष आकर्षण भनेको विभिन्न नेपाली ब्रान्डहरू र विदेशी व्यवसायहरूका स्टलहरू थिए। नेपाली उत्पादन, हस्तकला, कपडा, व्यवसायिक सेवा, र खानाका स्टलहरूमा भीड लागेको देखिन्थ्यो। यी स्टलहरूले नेपाली उत्पादनप्रति अभिरुचि बढाउनुका साथै व्यवसाय प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेका छन्।
अमेरिकी नागरिकहरूको समेत उपस्थिति रहेको यस मेलाले नेपाल संस्कृतिप्रतिको अन्तर्राष्ट्रिय चासो र सम्मानलाई प्रकट गरेको छ। यो भव्य मेला नेपालीहरूको साझा पहिचान, गर्व र भविष्यप्रतिको आशालाई समेट्ने सफल कार्यक्रम बनेको आयोजकले जनाएका छन्।