अशोक शर्माको ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते देशभर प्रदर्शन हुने — OSNepal

अशोक शर्माको ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते देशभर प्रदर्शन हुने

Kesh Karki (USA) April 14, 2025 0

काठमाडौं – अशोक शर्माको निर्देशनमा निर्माण गरिएको बहुप्रतीक्षित नेपाली सिनेमा ‘डबल ट्रिपल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। पहिले दशैंको फूलपातीको अवसर पारेर रिलिज हुने भनिएको चलचित्र अब फागुन १ गते भ्यालेनटाइन डेको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको हो।

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक अशोक शर्माले सिनेमाको नयाँ मिति सार्वजनिक गरेका हुन्। पोस्टमार्फत शर्माले दशैंमा धेरै सिनेमा एकसाथ प्रदर्शनमा आउने भएकाले भिड कम गर्नका लागि समन्वयको प्रयास गरे पनि अन्य निर्माताहरूको असहयोगका कारण नयाँ मिति तय गरिएको जनाएका छन्।

उनले लेखेका छन्, “दसैंमा धेरै सिनेमाहरू आउने भए, भरसक मिलाएर कम सिनेमा ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न तयार भएनन्, त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते रिलिज हुनेछ।”

‘डबल ट्रिपल’ मा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल र सुरबिर पण्डित जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा तथा पटकथा निर्देशक शर्मा र लेखक राजेश सिटौलाको सहलेखनमा तयार पारिएको हो। शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायांकन, राजु किराँतीको एक्सन निर्देशन, र सुनिल क्षेत्रीको नृत्य निर्देशन रहेको चलचित्रमा नगेन्द्र घिमिरे निर्माण नियन्त्रकको रूपमा आवद्ध छन्।

चलचित्रका निर्माता किरण शर्मा पौड्याल, कीर्ति शर्मा, र अंकित शर्मा रहेका छन्। भ्यालेनटाइन विशेषका रूपमा रिलिज हुन लागेको यस चलचित्रले प्रेम, हास्य, र सामाजिक सन्देशको संयोजन दर्शकलाई दिन सक्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर