काठमाडौं – आगामी जेठ २ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा बुढासुव्वा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक टिजर २ मिनेट ४ सेकेन्डको रहेको छ।
टिजरले नेपाली समाजमा देखिएको बेरोजगारी, राजनीति, र विदेशी हस्तक्षेपमाथि तिखो व्यङ्ग्य प्रस्तुत गरेको छ। टिजर हेर्दा चलचित्रले नेपालका नेताहरू बाह्य हस्तक्षेपकर्तालाई ‘देवता’ मानेर पूजा गर्ने प्रवृत्तिमाथि सशक्त कटाक्ष गरेको स्पष्ट बुझिन्छ। कमेडी जनरामा तयार गरिएको यस चलचित्रले दर्शकलाई हँसाउने मात्र होइन, सोच्न बाध्य बनाउने संकेत देखाएको छ।
चलचित्रमा दिलीप रायमाझीलाई बेरोजगारीले गाँजिएको युवाको भूमिकामा प्रस्तुत गरिएको छ, जसले आजको पुस्ताको प्रतिनिधित्व गर्छन्।
रेडलाइन फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्, जो यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’जस्ता सामाजिक कथामा आधारित चलचित्र निर्देशन गरिसकेका अनुभवी निर्देशक हुन्। चलचित्रमा पि.वी. थापाको लगानी रहेको छ।
यस चलचित्रमा दिलीप रायमाझीसँगै सुरबिर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेर राई ‘फुलन्देको आमा’, भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
विशेष भूमिकामा प्रियंका कार्कीको पनि अभिनय रहेको बुझिएको छ, यद्यपि उनको भूमिका कस्तो हुने हो भन्ने विषयमा अहिले खुलाइएको छैन।
चलचित्रका नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शंकर महर्जन, तथा संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन्। गीतमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको छ, जसले चलचित्रको संगीत पक्षलाई आकर्षक बनाएको निर्माण पक्षको विश्वास छ।
‘हेल्लो काँशीराम’को फस्टलुक पोस्टर, टिजर, र रिलिज मिति एकैसाथ सार्वजनिक गरेर प्रचार अभियान थालेको निर्माण टिमले गीतहरू पनि चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ।
राजनीतिक व्यंग्य, सामाजिक यथार्थ र मनोरञ्जनको मिश्रण रहेको यो चलचित्र नयाँ वर्षको उपहारका रूपमा दर्शकमाझ प्रस्तुत हुन गइरहेको छ।