चलचित्र ‘द महावीर’को कास्टिङ कल सार्वजनिक, नयाँ अनुहारलाई प्राथमिकता
काठमाडौं । नेपाली चलचित्र ‘द महावीर’का लागि निर्माण टिमले औपचारिक रूपमा कास्टिङ कल सार्वजनिक गरेको छ । नयाँ र अनुभवी दुवै कलाकारलाई अवसर दिने उद्देश्यले निर्माण पक्षले फरक-फरक भूमिकाका लागि विभिन्न उमेर समूह र लुक्स भएका कलाकारहरूको अडिसन खुला गरेको हो ।
सिनेमामा हेरचाह गर्ने भूमिकाका लागि ३० देखि ४० वर्ष उमेर समूहकी जनजाति अनुहारकी महिला कलाकार चाहिएको छ भने हल्का कालो छालाको राम्री, राम्रो नृत्य गर्न सक्ने २० देखि २५ वर्षकी महिला पात्रका लागि पनि आवेदन खुला गरिएको छ।
त्यस्तै, हल्का कालो छाला भएको मिक्स जनजाति अनुहार देखिने १० देखि १२ वर्षका पुरुष बाल कलाकार, ६ फिट अग्लो आर्य फेस भएको ३५ देखि ४० वर्ष उमेरका एथलेटिक पुरुष, ४० देखि ५० वर्ष उमेरकी फ्याट एन्ड लेजी लुक्स भएकी जनजाति महिला र २५ देखि ३० वर्ष उमेर समूहका फिट बडी भएका जनजाति लुक्सका पुरुष पात्रका लागि पनि अडिसन माग गरिएको छ।
६ फिट अग्ला, फिट एन्ड फाइन देखिने २५ देखि ३० वर्ष उमेरका आर्य अनुहार भएका एथलेटिक पुरुष, बोल्ड एन्ड कमान्डिङ लुक्स भएका ६० देखि ६५ वर्षका जनजाति पुरुष, ५० देखि ६० वर्ष उमेर समूहका अग्ला, स्वस्थ जनजाति अनुहार भएका पुरुष, गोरो छालाका दृष्ट र धुर्त देखिने ५० देखि ६० वर्षका आर्य पुरुष कलाकार र स्मार्ट लुक्स भएका ७ देखि १० वर्ष उमेर समूहका आर्य बाल कलाकारका लागि पनि कास्टिङ खुला गरिएको छ।
निर्माणपक्षका अनुसार अभिनयमा दक्षता भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ। पहिलो चरणमा एक मिनेटको भिडियो वैशाख १ देखि ३ गतेभित्र पठाउनुपर्नेछ। डिजिटल अडिसनमार्फत छानिएका व्यक्तिहरुलाई दोस्रो चरणमा फोनमार्फत बोलाई फिजिकल अडिसन लिने व्यवस्था गरिएको छ।
‘द महावीर’को थिम पोस्टर सार्वजनिक भइसकेको छ जसमा दुई बलिष्ठ घोडा दौडाउँदै आमने-सामने भिडेका दुई पात्र र बीचमा रातो कपडाले बेरिएको विशाल तरवार देखाइएको छ। रेड एन्ड डार्क टोनमा तयार पारिएको पोस्टरले चलचित्रको कथा युद्ध पृष्ठभूमिमा आधारित रहेको संकेत गर्छ।
‘राइज, फाइट, कन्क्वेर’ भन्ने स्लोगन रहेको यो चलचित्रको कथा कृष्ण बिके र निर्देशक जिबी आग्रीले लेखेका हुन्। लक्षरा फिल्म्सको प्रस्तुति रहने चलचित्रका निर्माता कृष्ण बिके, बिआर रेड्डी, र सन्तोष लुहार छन् भने सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहेका छन्।
कार्यकारी निर्माताका रूपमा वरिष्ठ संगीतकार सुरेश अधिकारी रहने छन्। छायांकन निर्देशक सरण रिसी रहेका छन्।
नेपाली र हिन्दी भाषामा निर्माण हुने ‘द महावीर’मा डल्बी एटमस साउन्ड प्रविधि प्रयोग गरिनेछ भने चलचित्रको रिलिज मिति भने हालसम्म घोषणा गरिएको छैन।