काठमाडौँ । नयाँ वर्ष २०८२ को पहिलो दिन नेपाली चलचित्र क्षेत्रबाट नयाँ सिनेमाको घोषणा गरिएको छ। ॐ वायुपुत्र फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्न लागेको ‘पुष्पलता’ नामक चलचित्र प्रेमकथा (लभ स्टोरी) जनरामा निर्माण हुने भएको हो।
चलचित्रको लेखन तथा निर्देशन सुनील निउरेले गर्नेछन्। लामो समयदेखि सहायक निर्देशक र लेखकका रूपमा विभिन्न परियोजनामा अनुभव सँगालेका निउरेको यो डेब्यु निर्देशन हुनेछ। उनले ‘पुष्पलता’ लाई हालको प्रेमकथाबाट भिन्न र नवीन स्वाद दिने चलचित्र हुने दाबी गरेका छन्।
चलचित्रको दुईवटा थिम पोस्टर सार्वजनिक गरिएको छ, जसले चलचित्रको प्रेम र पारिवारिक भावभूमि प्रस्ट्याउने संकेत दिएको छ। यद्यपि चलचित्रमा प्रमुख भूमिकामा को–को कलाकार रहने हुन् भन्नेबारे हाल खुलाइएको छैन। निर्माण पक्षका अनुसार कलाकार र अन्य टिमबारे छिट्टै सार्वजनिक गरिनेछ।
चलचित्रमा संजोग रसाइली कास्टिङ डाइरेक्टरको रूपमा रहनेछन् भने हर्क साउदको शब्दमा शुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ। प्रोडक्सन डिजाइनर प्रकाश हमाल, ड्रेस डिजाइनर बोनिका कार्की र रीत खड्का रहनेछन्।
‘पुष्पलता’को छायांकन आगामी भदौ महिनाबाट सुरु हुने तयारी गरिएको छ। निर्माण टिमले लभ स्टोरीसँगै पारिवारिक सन्देश बोकेको चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ।
‘पुष्पलता’को घोषणा नयाँ वर्षसँगै नयाँ आशा र शैलीमा नेपाली चलचित्र क्षेत्रको अर्को अध्याय सुरु हुने संकेतको रूपमा हेरिएको छ।