काठमाडौं । निर्देशक राज बहादुर सानेको निर्देशनमा निर्माण भएको नेपाली सिनेमा ‘सिटामोल’ आगामी साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बैशाख १ गते सार्वजनिक गरिएको थिम पोस्टरसहित प्रदर्शन मिति पनि घोषणा गरिएको हो।
सार्वजनिक पोस्टरमा सौगात मल्ल बैशाखीको सहारामा हातमा रातो भाले समातेर उभिएका देखिन्छन् भने बेनिशा हमाल बच्चा बोकेर प्रसन्न मुद्रामा देखिएकी छन्। दृश्यले उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा प्रस्तुत हुने संकेत गर्छ।
सिनेमाले माओवादी जनयुद्धको पृष्ठभूमि बोकेको कथा प्रस्तुत गर्नेछ। सौगात मल्लले जनयुद्धको घाइते योद्धाको भूमिकामा अभिनय गरेका छन्। यस सिनेमामा सौगात र बेनिशाका साथै लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल लगायत बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी को अभिनय रहेको छ।
सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले संयुक्त रूपमा लेखेका हुन्। तुल्सी देवी फिल्म प्रालिको ब्यानरमा, जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’का निर्माता भुगोल कुमार कार्की र विकाश राज जोशी हुन्। कार्यकारी निर्मातामा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी, सहनिर्मातामा गंगाराम श्रेष्ठ रहेका छन्।
सिनेमामा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, र दिव्य सुवेदीको छायांकन रहेको छ।
यथार्थमा आधारित संवेदनशील कथावस्तु, सशक्त कलाकारहरूको अभिनय र अनुभवी प्राविधिक टोलीको संयोजनमा बनेको ‘सिटामोल’ ले दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।