काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बहुप्रशंसित नेपाली चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को निर्माण घोषणा गरिएको छ। सोमबार, नयाँ वर्षकै दिन सार्वजनिक गरिएको फरेस्टलुक पोस्टरसहित निर्माण टिमले औपचारिक रूपमा चलचित्रको घोषणा गरेको हो।
निर्देशक उपेन्द्र सुब्बाकै लेखन र निर्देशनमा बन्ने ‘जारी २’ मा फेरि अभिनेता दयाहाङ राई, विजय बराल र मिरुना मगर मुख्य भूमिकामा देखिनेछन्। सार्वजनिक पोस्टरमा दयाहाङ राईलाई च्याब्रुङ (लिम्बु समुदायको परम्परागत ढोल) बजाइरहेको अवस्थामा देखाइएको छ। सिनेमाको ट्यागलाइन ‘Song of Chyabrung’ राखिएको छ, जसले चलचित्रको सांस्कृतिक भावभूमिलाई प्रस्ट्याउँछ।
ब्लकबस्टर चलचित्र ‘जारी’ ले नेपाली बक्सअफिसमा १७ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो। सोही सफलताको निरन्तरता स्वरूप ‘जारी २’ निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ।
आउँदो दशैंको अवसरमा चलचित्र रिलिज गरिने तयारी गरिएको छ। बैशाखको तेस्रो साताबाट छायांकन सुरु हुने बताइएको चलचित्रमा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु को अभिनय रहनेछ।
रामबाबु गुरुङको निर्माण रहने चलचित्र ‘जारी २’ लाई बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सले प्रस्तुत गर्नेछन्। सम्पूर्ण छायांकन पूर्वी नेपालको पाँचथर जिल्लाका पर्यटकीय गन्तव्यहरूमा गरिनेछ, जसले स्थानीय संस्कृति र सौन्दर्यलाई पनि पर्दामा उतार्ने अपेक्षा गरिएको छ।
कवि उपेन्द्र सुब्बाको कलम, च्याब्रुङको ताल र पहाडी संस्कृतिको रङले सजिएको ‘जारी २’ ले नेपाली चलचित्रमा पुनः नयाँ ऊर्जाको संचार गर्ने अपेक्षा गरिएको छ।