नयाँ वर्षको सुरुआतमै याम शेर्पाको ‘मिरमिरे’ निर्माण घोषणा — OSNepal

नयाँ वर्षको सुरुआतमै याम शेर्पाको ‘मिरमिरे’ निर्माण घोषणा

Kesh Karki (USA) April 14, 2025 0

काठमाडौं । ‘कार्साङ’ चलचित्रका निर्देशक याम शेर्पाले नयाँ वर्ष २०८२ को सुरुआतमै नयाँ सिनेमाको निर्माण घोषणा गरेका छन्। उनले सामाजिक कथामा आधारित नयाँ चलचित्र ‘मिरमिरे’ को थिम पोस्टरसहित औपचारिक घोषणा गर्दै यसै वर्ष रिलिज गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।

यार्सा फिल्म्सको प्रस्तुति रहने यो चलचित्रको कथा ग्रामीण परिवेशमा आधारित रहनेछ। निर्देशक शेर्पाले चलचित्रको निर्देशनसँगै कथा लेखन पनि आफैं गर्ने भएका छन्। निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानीमा बन्ने ‘मिरमिरे’लाई आरआर फिल्म्सले वितरण गर्नेछ।

सार्वजनिक थिम पोस्टरमा एक पुरुष र एक महिला पात्र मिरमिरे उज्यालोमा सूर्यतर्फ फर्किएर उभिएको दृश्य देखाइएको छ। सूर्यको पहिलो किरणसँगै उनीहरू केही नयाँ यात्रा वा योजना सुरू गर्न लागिरहेका छन् भन्ने सन्देश पोस्टरले दिन खोजेको छ। यद्यपि, पोस्टरमा उनीहरूको उद्देश्य र कथा विस्तार भने खुलाइएको छैन।

निर्देशक शेर्पाले चलचित्रको प्रदर्शन मिति भने अझै निश्चित नभएको बताए। साथै, कलाकारको टुंगो पनि लगाइएको छैन। “को–को कलाकार रहने भन्ने जानकारी हामी क्रमशः सार्वजनिक गर्दै जानेछौं,” निर्देशक शेर्पाले भने।

उनले यसअघि निर्देशन गरेको ‘कार्साङ’मा भएका कमीकमजोरीबाट पाठ सिकेर ‘मिरमिरे’मा दर्शकको चाहनाअनुसारको सशक्त र सन्देशमूलक सिनेमा ल्याउने प्रतिबद्धता जनाएका छन्। शेर्पाले ‘मिरमिरे’प्रति पनि दर्शकको साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन्।

नयाँ वर्षको सुरुआतमै सामाजिक विषयवस्तुमाथि आधारित नयाँ प्रयोग गर्ने तयारी देखाउँदै निर्देशक याम शेर्पाले नेपाली सिनेमामा पुनः नयाँ ऊर्जा थप्ने संकेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर