‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल, बैशाख ७ सम्म मात्र मञ्चन हुने
काठमाडौं । मण्डला थिएटर, थापागाउँमा मञ्चन भइरहेको नाटक ‘अर्को एउटा द्रोणाचार्य’ दर्शकमाझ अत्यन्त लोकप्रिय बनेको छ। शक्ति, अधिकार र नैतिकताको त्रिकोणीय द्वन्द्वमाथि आधारित यस नाटकका अधिकांश शो हाउसफूल भइरहेका छन्। आयोजक कोषा आट्र्स थिएटरका अनुसार नाटक यही बैशाख ७ गतेसम्म मात्र मञ्चन हुनेछ।
चैत २१ गतेदेखि सुरु भएको नाटक सोमबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुँदै आएको छ भने शनिबार दिउँसो १ः१५ बजे अतिरिक्त शो पनि राखिएको छ।
भारतीय लेखक डा. शंकर शेषको चर्चित नाटक ‘एक और द्रोणाचार्य’ मा आधारित यस नाटकलाई सम्राट भुजेल र श्रीशेष श्रेष्ठले नेपाली भाषामा रूपान्तरण गरेका हुन्। निर्देशक उमेश तामाङको नेतृत्वमा तयार पारिएको नाटकमा समाजमा देखिने नेतृत्वको नैतिक संकटलाई गहिरो व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।
महाभारतको पृष्ठभूमिमा आधारित नाटकमा गुरु द्रोणाचार्यको जीवन, निर्णय र शक्ति–कर्तव्य–नैतिकताको झमेलालाई आधुनिक सन्दर्भमा जोडिएको छ। विशेषतः जब द्रोणाचार्य धर्म पाण्डव पक्षमा देख्दादेखै पनि कर्तव्यका नाममा कौरव पक्ष रोज्छन्, त्यहीँबाट कथावस्तु गहिरिँदै जान्छ।
उमेश सुनाम, कृतिका बस्नेत, सनम श्रेष्ठ, अर्जुन दुलाल, आभास भट्टराई, भुवन लोहार, रोशन अधिकारी, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, दिपेस गजुरेल, प्रेम सिलवाल र स्वर्णिम चाम्लिङजस्ता कलाकारहरूको जीवन्त अभिनयले नाटकलाई थप सशक्त बनाएको छ।
निर्देशक तामाङका अनुसार, “नाटक शक्ति र नेतृत्वको स्थानमा रहेका व्यक्तिहरूको नैतिक द्विविधामाथि प्रश्न उठाउने माध्यम हो। यो नाटक नेपाली राजनीतिक र सामाजिक यथार्थसँग गहिरो रूपमा मेल खान्छ।”
उनले मञ्च सजावटभन्दा पनि पात्रहरू र तिनका द्वन्द्वमा दर्शकको ध्यान केन्द्रित गराउने उद्देश्य राखेको बताए। प्रकाशको प्रयोगमार्फत प्रोफेसर र विद्यार्थीबीचको बदलिँदो मनोविज्ञान देखाउने कोसिस गरिएको पनि उनले उल्लेख गरे।
नाटक ‘गुरुपन’ भन्ने अवधारणालाई केन्द्रीत गर्दै शिक्षक र मार्गदर्शकको भूमिकामाथि गम्भीर प्रश्न उठाउँछ। चन्दू नामक पात्रसँग द्रोणाचार्यको सम्बन्धमार्फत अनुशासन, रिस, बगावत र आश्रयका तहहरू उजागर गरिएको छ।
कोषा आट्र्स थिएटर यसअघि चर्चित लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ मा आधारित ‘मुनमुन’ नाटक मञ्चन गरिसकेको थिएटर समूह हो। ‘अर्को एउटा द्रोणाचार्य’ को सफलताले कोषा आट्र्सको सिर्जनशील यात्रामा नयाँ उचाइ थपेको छ।
यो नाटकले नेपाली समाजमा शिक्षक, अभिभावक र नेतृत्व तहमा रहेका पात्रहरूको प्रभावमाथि सोच्न बाध्य बनाउनेछ भन्नेमा निर्देशकको विश्वास छ।