काठमाडौँ, ३१ चैत। खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा भएको आकस्मिक छड्के अनुगमनका क्रममा मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएका छन्।
पछिल्लो समय मन्त्रालय मातहतका कार्यालयहरूमा कर्मचारीहरुको नियमितता र उपस्थिति सम्बन्धी गुनासो बढेपछि मन्त्री यादव, मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरीसहितको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन्।
खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारीहरू उपस्थित अवस्थामा भेटिए पनि मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी अनुपस्थित भेटिएको सहसचिव पुरीले जानकारी दिए। मन्त्री यादवले हाजिरी रहेका कर्मचारीहरूसँग कार्यालय सञ्चालनका क्रममा देखिने समस्या र चुनौतीबारे पनि जानकारी लिएका थिए।
सहसचिव पुरीका अनुसार, अबदेखि मेलम्ची समितिमा कर्मचारीको समयपालन सुनिश्चित गर्न विशेष उपायहरू लागु गरिनेछ। वैशाख २ गतेबाट बिद्युतिय हाजिरी प्रणाली अनिवार्य बनाउने निर्णय भएको छ। साथै, कार्यालय समयभित्र कुनै कामका सिलसिलामा बाहिर जानुपर्ने भएमा लकबुकमा विवरण उल्लेख गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
मन्त्रालयले यो अनुगमनलाई प्रशासनिक अनुशासन कायम गर्न र कार्यालय प्रणालीलाई थप प्रभावकारी बनाउन उठाइएको सकारात्मक कदमको रूपमा लिएको छ।