काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भक्तपुरस्थित दिव्यश्वरी प्लानिङको रोयल नेपाल फुटसलमा पालिकास्तरीय फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बिगु गाउँपालिका सम्पर्क मञ्चले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जित हात पार्दै ट्रफी उचाल्न सफल भयो।
प्रतियोगितामा कालिञ्चोक गाउँपालिका सम्पर्क मञ्च दोस्रो स्थानमा रहँदा, भीमेश्वर नगरपालिका सम्पर्क मञ्च तेस्रो स्थानमा र तामाकोशी गाउँपालिका सम्पर्क मञ्चले सान्त्वना स्थान हासिल गरेका छन्।
विजेता बिगुलाई २०,१०० रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। दोस्रो स्थान प्राप्त कालिञ्चोकलाई १५,१०० रुपैयाँ, तेस्रो स्थानको भीमेश्वरलाई १०,१०० रुपैयाँ र चौथो स्थानको तामाकोशीलाई ५,१०० रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्काले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद र ट्रफीले सम्मान गरिएको थियो। टीम बिगुका सुजन श्रेष्ठ ‘बेष्ट प्लेयर’, भीमेश्वरका उत्तम शाही ‘सर्वाधिक गोलकर्ता’ तथा कालिञ्चोकका निकेश बस्नेत ‘उत्कृष्ट गोलकिपर’ घोषित भए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टिम, रेफ्री, मेडिकल सहयोगी संस्था, संयोजक देवेन्द्र भुजेल र खेलकुद विभागका सदस्यहरूलाई अध्यक्ष खड्काले विशेष धन्यवाद व्यक्त गरे। साथै, जनतासँग पार्टीको सम्पर्क बलियो बनाउने उद्देश्यले भविष्यमा पनि यस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले गरेका थिए भने समापन समारोहमा पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरेका थिए।
समारोहमा पूर्वमन्त्री सरस्वती बस्नेत, श्याम कुमार बस्नेत, रामप्रसाद रिमाल, राम पाण्डे, बिनिता सुवेदी, अशोक कुमार ठकुरी, सरोजमोहन लामा, अमृत खड्का, राजन पौडेल, गणेश शिवाकोटी, ओमकृष्ण आचार्य, प्रल्हाद लामिछानेलगायत नेताहरूको उपस्थिति रहेको थियो।