काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालले नयाँ वर्ष २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा जारी शुभकामना सन्देशमा नयाँ वर्षले आपसी एकता, भाइचारा, दिगो शान्ति, सामाजिक सद्भाव, सहिष्णुता, न्याय र राजनीतिक स्थायित्वलाई सुदृढ बनाउँदै सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर होस् भन्ने कामना गरिएको छ।
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरबाट जारी गरिएको यो शुभकामना सन्देशमा देशभित्र तथा बाहिर रहेका सम्पूर्ण नेपाली समुदायको उत्तरोत्तर उन्नति र सफलताको अपेक्षा गरिएको उल्लेख छ।
पार्टीले नयाँ वर्षको सुरुआतसँगै राष्ट्रिय एकता र सहकार्यका माध्यमबाट मुलुकलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन सबैलाई आग्रह गरेको छ।