काठमाडौँ । वैदेशिक रोजगारीको झुटो प्रलोभन देखाई ठगी गर्ने दुई जना व्यक्तिहरु काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि सम्बन्धित कार्यालयमा पठाएको छ।
प्रहरीका अनुसार ख्याम खड्का (उमेर ३५ वर्ष), स्थायी वतन इलाम चुलाचुली गाउँपालिका वडा नं. ३ र हाल काठमाडौँ महानगरपालिका वडा नं. २९ बसोबास गर्दै आएका थिए। उनले युके लैजाने प्रलोभन देखाएर दुई जना व्यक्तिलाई कुल ३६ लाख रुपैयाँ ठगी गरेका थिए। उनलाई २०८१ साल चैत ३० गते ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ८ बाट पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँमा पठाइएको छ।
त्यस्तै, मोरङ ग्रामथान गाउँपालिका वडा नं. ६ स्थायी ठेगाना भएका २३ वर्षीय इश्वर पोखरेल हाल काठमाडौँ महानगरपालिका वडा नं. ३० मा बस्दै आएका थिए। उनले क्यानडामा रोजगारको नाममा एकजनालाई १० लाख ५१ हजार रुपैयाँ ठगी गरेका थिए। उनलाई २०८१ साल चैत २९ गते काठमाडौँ महानगरपालिका वडा नं. १४ बाट पक्राउ गरिएको छ। उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा बुझाइएको छ।
प्रहरी उपरीक्षक अंगुर जि.सी.का अनुसार पीडितको उजुरीको आधारमा अनुसन्धान सुरु गरिएको थियो। ठगीमा संलग्न अरु व्यक्ति वा गिरोहको खोजी पनि भइरहेको जनाइएको छ।
प्रहरी सम्पर्क:
अंगुर जि.सी. (प्रहरी उपरीक्षक)
फोन नम्बर: ९८५१२८००१३