अधिवक्ता विष्णु गिरीको कानुनी साक्षरता अभियान ग्रामीण क्षेत्रमा सक्रिय — OSNepal

अधिवक्ता विष्णु गिरीको कानुनी साक्षरता अभियान ग्रामीण क्षेत्रमा सक्रिय

Kesh Karki (USA) April 13, 2025 0

काठमाडौं । तीन तहको सरकारअन्तर्गत स्थानीय तहमा कानुनी साक्षरता अभियानमा सक्रिय अधिवक्ता विष्णु गिरीले कानुनका आधारभूत पक्षबारे जनतालाई जानकारी दिन निरन्तर प्रयास गरिरहेका छन्। उनले ग्रामीण क्षेत्रका नागरिकलाई कानुनी ज्ञान दिएर सामाजिक अपराध न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

फौजदारी र देवानी प्रकृतिका मुद्दा जस्तै विवाह, बहुविवाह, अपहरण, छुवाछुत, भेदभाव, कुटपिट, सार्वजनिक सम्पत्ति हडप्नेजस्ता विषयमा जानकारी नहुँदा धेरैले अनाहकमा कानुनी जटिलता भोग्नुपर्ने अवस्था आउँछ। यस्तो अवस्थामा कानुनी साक्षरता अभियानमार्फत जनतालाई सजग बनाउँदै आएका गिरीले स्थानीय निकाय, विद्यालय, सामुदायिक संस्था लगायतका ठाउँमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

अनलाइन सञ्जालमा कोभिड सुरक्षालाई पत्रकारले दिएको प्राथमिकता तथा नागरिकता विधेयक सम्बन्धी मुद्दा सुप्रीम कोर्टसम्म लडेर विजय हासिल गरिसकेका अधिवक्ता गिरीले कानुनको अज्ञानतालाई अक्षम्य ठान्छन्। त्यसैले नेपाली नागरिक मात्र नभई नेपालमा बसोबास गर्ने विदेशीले समेत नेपालको कानुनबारे जानकारी राख्न आवश्यक रहेको उनको धारणा छ।

मेलमिलापकर्ता समेत रहेका गिरी कानुनी संस्थाहरूको तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन्। पत्रकारिता क्षेत्रबाट पनि आबद्ध गिरीले पत्रकार महासंघमा नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका छन्।

कोरिया, जापान, थाइल्याण्ड, कम्बोडिया, बंगलादेश, भारत, चीनलगायत दर्जनभन्दा बढी मुलुकको भ्रमण गरेका गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कानुनी तालिमहरू लिइसकेका छन्। न्याय क्षेत्रमा अझै सुधारको खाँचो औंल्याउँदै उनले न्याय सम्पादनलाई छिटो, छरितो र निष्पक्ष बनाउन सुधार आवश्यक रहेको बताए।

‘अरुले के गरे, नगरे भन्नेभन्दा आफूले के गर्न सकिन्छ भन्ने सोच राखेर अघि बढ्नुपर्छ,’ गिरी भन्छन्, ‘जीवनमा समस्या र चुनौती आइरहन्छन् तर सकारात्मक सोचका साथ अघि बढ्न सकियो भने सफलता अवश्य प्राप्त हुन्छ।’ दर्जनौं सम्मान र पुरस्कार प्राप्त गरिसकेका गिरी अझै पनि न्यायिक क्षेत्रमा सुधारको खाँचो रहेको बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर