कुमारी लामाको निबन्ध संग्रह ‘दज्र्यु संलाप’मा तामाङ समाजको आवाज — OSNepal

कुमारी लामाको निबन्ध संग्रह ‘दज्र्यु संलाप’मा तामाङ समाजको आवाज

Kesh Karki (USA) April 13, 2025 0

पोखरा — साहित्यकार कुमारी लामाद्वारा लिखित दोस्रो निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिबार पोखरामा चर्चा गरिएको छ। र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको कार्यक्रममा लेखक, साहित्यप्रेमी र समालोचकहरूले कृतिको सामाजिक, सांस्कृतिक र साहित्यिक महत्वमाथि विश्लेषण गरे।

कार्यक्रममा साहित्यकार कुमार तामाङले ‘दज्र्यु संलाप’मा तामाङ समुदायमाथि सिङ्गो राज्यले गरेका विभेद र अन्यायको सिर्जनात्मक प्रतिरोध प्रस्तुत गरिएको धारणा राखे। आख्यानात्मक शैलीमा लेखिएको निबन्धले सामाजिक कुरीति, धर्मको नाममा भएका कुसंस्कार र असमान व्यवहारको गहिरो चित्रण गरेको उनले बताए। “सभ्यता र संस्कारको झेली खोलभित्र लुकेको अधार्मिकता र अन्यायविरुद्ध यो कृति विद्रोही स्वर बनेर उभिएको छ,” तामाङले भने।

कार्यक्रममा निबन्धकार कुमारी लामाले आफूले तामाङ समुदायको विश्वास र अनुभवलाई केन्द्रमा राखेर समावेशी दृष्टिकोणबाट निबन्धहरू प्रस्तुत गरेको स्पष्ट पारिन्। उनले आदिवासी सौन्दर्य चेतनालाई उजागर गर्नुका साथै “पृथ्वीमा रहेका सम्पूर्ण अस्तित्वलाई सम्बोधन गर्नुपर्ने” धारणा कृतिबाट व्यक्त गर्न खोजिएको बताइन्। रैथाने संस्कार, भाषिक ट्रोलिङको अनुभव, र विकासका नाममा भइरहेको मानव सभ्यतामाथिको अतिक्रमणलाई उनले चुनौतीपूर्ण रूपमा प्रस्तुत गरेकी छन्।

कार्यक्रममा गौरी तमू, सुरज पौडेल, दीपक पराजुली र प्रवीण बडगामीलगायतले कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। नेपालप्रकाश अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए भने सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

यसअघि ‘उज्यालो अन्धकार’ निबन्ध सङ्ग्रह प्रकाशन गरिसकेकी लामाको ‘दज्र्यु संलाप’ दोस्रो कृति हो। यस निबन्ध सङ्ग्रहमा ‘समाज संवार्ता’, ‘सैलानी समय’ र ‘दृश्य अदृश्य’ शीर्षक अन्तर्गत १७ निबन्ध समेटिएका छन्।

र्‍यान्डम रिडर्स सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक कृति वा समसामयिक विषयमा बहस गर्ने परम्परा कायम राख्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर