कवि–कलाकार नरेन्द्रबहादुर श्रेष्ठको भव्य अभिनन्दन समारोह सम्पन्न — OSNepal

कवि–कलाकार नरेन्द्रबहादुर श्रेष्ठको भव्य अभिनन्दन समारोह सम्पन्न

Kesh Karki (USA) April 12, 2025 0

काठमाडौं – कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी नीरू श्रेष्ठलाई साहित्यिक पत्रकार संघको आयोजनामा शुक्रबार आनन्द पशुपति होटल, तिलगंगामा आयोजित एक भव्य समारोहमार्फत हार्दिक अभिनन्दन गरिएको छ।

नेवारी परम्पराअनुसार जङ्कु हुन लागेका श्रेष्ठ दम्पतीलाई जङ्कुको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार संघको नेतृत्वमा ३८ संस्थाहरूको सहभागिता रहेको थियो, जसमा अनेसास दर्पण पनि सामेल थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वराजदूत केदारभक्त माथेमा थिए भने अध्यक्षता साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका थिए।

सो अवसरमा नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्वलाई समेटिएको “नरेन्द्रबहादुर श्रेष्ठ : आलेख र अभिलेख” नामक कृति पनि लोकार्पण गरिएको थियो।

उक्त ग्रन्थका प्रधान सम्पादक प्रमोद प्रधान, सह–सम्पादकहरूमा ओम श्रेष्ठ “रोदन”, विमल भौकाजी र मुरारी सिग्देल रहेका छन्। पुस्तकमा ८० जना लेखकका लेख र अभिलेख समावेश छन्।

कार्यक्रममा २०८२ सालको नयाँ वर्ष क्यालेन्डर पनि लोकार्पण गरियो, जुन श्रेष्ठका चित्रकलाले सजिएको थियो। साथै, सर्वनाम समूहद्वारा तयार पारिएको श्रेष्ठको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। उक्त वृत्तचित्रको निर्देशन वरिष्ठ नाट्यकर्मी अशेष मल्लले गरेका हुन्।

पूर्वराजदूत माथेमाले श्रेष्ठजस्ता सिर्जनशील व्यक्तित्वको सम्मान हुनु समाजका लागि गर्वको कुरा भएको उल्लेख गरे।

वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रेष्ठको कविता, कला, समाजसेवा र अध्यात्म क्षेत्रमा अतुलनीय योगदान रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, र लक्ष्मी प्रसाईंजस्ता विशिष्ट अतिथिहरूले पनि श्रेष्ठलाई शुभकामना व्यक्त गरे।

अभिनन्दन प्राप्त गर्दै नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो साहित्यिक यात्रा, आमा र पत्नीको योगदान तथा आजको दिनलाई आफ्नो जीवनको अविस्मरणीय दिन भने।

कार्यक्रमको सहजीकरण कवि तथा पत्रकार ठाकुर बेलवासेले गरेका थिए।

श्रेष्ठका सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलले अभिनन्दनपत्र वाचन गरेकी थिइन्।

कार्यक्रममा ४०० भन्दा बढीको उपस्थिति रहेको थियो।

सहभागी लेखक, अतिथि र संस्थाहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर