काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानको प्राविधिक समितिको बैठक आज सम्पन्न भएको छ। बैठकमा आगामी १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता (जेठ २०८२, कर्णाली प्रदेश)मा गैरआवासीय नेपाली खेलाडीहरूको सहभागिता सुनिश्चित गर्न आवश्यक तयारीहरूलाई तीव्र बनाउने निर्णय गरिएको छ।
बैठकले गैरआवासीय नेपाली खेलाडीको छनोट आगामी बैशाख २ गते प्रतिष्ठानको सचिवालय, बालुवाटारमा गर्ने निर्णय पनि गरेको छ। संघले यस पटक १८ खेल विधामा सहभागिता जनाउने लक्ष्य लिएको छ।
कार्यक्रममा संघका अध्यक्ष तथा खेलकुद प्रतिष्ठानका संरक्षक डा. बद्री केसी र युवा संयोजक तथा सदस्य सचिव सुपेन्द्र घिसिङको विशेष उपस्थिति थियो। डा. केसीले नवनियुक्त प्राविधिक समितिका सदस्यहरूलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै खेलकुदका माध्यमबाट मुलुकको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान दिनु पर्नेमा जोड दिए।
सचिव सुपेन्द्र घिसिङले दोस्रो पुस्ताका एनआरएन खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराई बढीभन्दा बढी पदक जित्ने विश्वास व्यक्त गरे। साथै, उनले राष्ट्रिय समन्वय परिषदहरू तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
बैठकमा एनआरएनए खेलकुद प्रतिष्ठानका संयोजक, सदस्यहरू, दशौं खेलकुद सहभागीता तयारी समितिका सदस्यहरू, साथै संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो।
संघले कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई एनआरएन खेलाडीहरूको क्षमता प्रदर्शनको महत्वपूर्ण अवसरका रूपमा लिएको छ। यस सहभागिताले अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ नेपाली खेलाडीको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।