बुसान एसियन फिल्म स्कूलको छात्रवृत्तिमा नेपाली निर्देशक जेसन लोप्चन छानिए — OSNepal

बुसान एसियन फिल्म स्कूलको छात्रवृत्तिमा नेपाली निर्देशक जेसन लोप्चन छानिए

Kesh Karki (USA) April 11, 2025 0

काठमाडौं । विश्वकै प्रतिष्ठित फिल्म स्कूलमध्ये एक, बुसान एसियन फिल्म स्कूल (AFiS) मा नेपाली युवा निर्देशक जेसन लोप्चन छात्रवृत्तिमा छानिएका छन्। बुसान फिल्म स्कूलले एसिया क्षेत्रका विभिन्न देशबाट वार्षिक रूपमा १८ जना युवा फिल्मकर्मीहरूलाई छात्रवृत्तिमा छनोट गर्ने गर्दछ, जसमा यसपटक लोप्चनले स्थान बनाएका हुन्।

छनोट भएका सहभागीहरू ८ महिनासम्म दक्षिण कोरियाको बुसानमा बसेर अन्तर्राष्ट्रिय स्तरका निर्माता र निर्देशकहरूसँग सहकार्य गर्दै आफ्ना आगामी चलचित्रको तयारी गर्छन्। निर्देशक लोप्चनले पनि यही कार्यक्रममार्फत आफ्नो दोस्रो फिल्मको स्क्रिप्ट लेखन तथा पूर्व-निर्माण कार्य बुसानमै सम्पन्न गर्नेछन्। फिल्मको छायांकन भने सन् २०२६ मा नेपालमै गरिने उनले जानकारी दिएका छन्।

जेसन लोप्चन नेपालमा पहिलो पटक आइफोनमार्फत खिचिएको फिल्म ‘A Place Under the Sun’ निर्देशन गरेर चर्चामा आएका थिए। उक्त फिल्म अहिले एमएसएम भिडियो मार्फत हेर्न सकिन्छ। उनले यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहको चर्चित गीत ‘मार्फाको मदिरा’ को म्युजिक भिडियो निर्देशन गरेर पनि दर्शकको ध्यान आकर्षित गरेका थिए।

बुसान एसियन फिल्म स्कूलमा जेसन लोप्चनको छनोट हुनु नेपाली युवा सिनेकर्मीको अन्तर्राष्ट्रिय पहिचान र सम्भावनाको पुष्टि हो। निर्देशक लोप्चनले उक्त अवसरलाई नेपाली सिने उद्योगको विकासमा योगदान पुर्‍याउने अवसरका रूपमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर