काठमाडौँ । ‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल २०२५’ मा देशभरका विभिन्न क्षेत्रबाट ७०० भन्दा बढीले सहभागिता जनाएका छन्। राष्ट्रिय आविष्कार केन्द्र (आइसिटी ल्याब, पोखरा) सँगको सहकार्यमा गत मङ्गलवार (अप्रिल ८) का दिन आयोजना गरिएको फेस्टिभलमा पोखरा र काठमाडौँमा गरी ५०० भन्दा बढी र दाङमा २०० भन्दा बढी सहभागी भएका हुन्।
पोखराको पोखरा इभेन्ट सेन्टरमा सम्पन्न मुख्य कार्यक्रममा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन डा. कपिल अधिकारी र माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर हरिकृष्ण न्यौपानेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सम्भावना, चुनौती र जिम्मेवार प्रयोगबारे महत्वपूर्ण प्रस्तुति दिए।
त्यस्तै काठमाडौँको सनवे कलेज, सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी तथा दाङको ज्ञानदीप कलेज र राप्ती इन्जिनियरिङ कलेजमा प्रत्यक्ष प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
कार्यक्रममा सहभागी सबैले ५० दिनको निःशुल्क एआई सिकाइ तथा अभ्यास यात्रामा सहभागी हुने अवसर पाएका छन्। एआई स्किल्स फेस्ट अब मे २८ सम्म विभिन्न तालिम, ह्याकाथन, भर्चुअल तथा प्रत्यक्ष कक्षा, सामुदायिक कार्यक्रम, र ‘माइक्रोसफ्ट लर्न च्यालेन्ज’ मार्फत निरन्तर चल्नेछ।
यसैबीच, माइक्रोसफ्टले यो फेस्टिभललाई २४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले एआईसम्बन्धी ज्ञान लिने गिनिज वर्ल्ड रेकर्ड्स कायम गर्ने प्रयासस्वरूप आयोजना गरेको हो। उक्त विश्वव्यापी सिकाइ अभियान अस्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न भएको थियो।
माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर तथा राष्ट्रिय आविष्कार केन्द्रका सल्लाहकार हरिकृष्ण न्यौपानेले नेपालमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कलेज, शिक्षक, विद्यार्थी र प्रविधिकर्मीहरूलाई आभार प्रकट गरेका छन्।
उक्त फेस्टिभलले नेपालमा एआईप्रतिको चासो र ज्ञानको स्तरमा उल्लेखनीय वृद्धि गर्ने विश्वास आयोजकले लिएका छन्।