संजिव दुलाल, भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको निर्माणमा सहयोग जुटाउने उद्देश्यले आयोजना गर्न लागिएको शिव पुराण महायज्ञको तयारी तीव्र गतिमा अघि बढेको छ।
आगामी २०७२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म सञ्चालन हुने महायज्ञले मूर्ति निर्माण र धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष जनक खत्रीका अनुसार, हालसम्म बसेको शिवको मूर्तिको कम्मरसम्मको भाग निर्माण सम्पन्न भइसकेको छ भने, त्यस माथिको भाग निर्माण अधुरो रहेको छ।
साथै, मन्दिर परिसरमा नाग कुण्ड, गोसाइकुण्ड, २७ धारा, नारायण कुण्डको निर्माण सम्पन्न भइसकेको छ। अधुरो मूर्ति निर्माणलाई पूर्णता दिन, शिव पुराण महायज्ञमार्फत आवश्यक आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको छ।
वडाध्यक्ष खत्रीले महायज्ञमा संकलन भएको प्रत्येक रुपैयाँ मूर्ति निर्माण र १००८ शिवलिङ्ग निर्माणमै खर्च गरिने स्पष्ट पार्नुभएको छ। महायज्ञ सञ्चालन खर्च स्थानीय स्रोतबाट जुटाइनेछ भने दाताबाट आएको सहयोग केवल मूर्ति र शिवलिङ्ग निर्माणमा मात्र प्रयोग गरिनेछ।
भक्तपुर, काभ्रेको बनेपा र धुलिखेल क्षेत्रसम्म दृश्य अवलोकन गर्न सकिने यो स्थान चाँगुनारायण–८ र ९ र बनेपा–१ को संगमस्थल हो। यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अन्तर्गत महायज्ञ आयोजना गरिएको हो।
नेपालकै सर्वाधिक अग्लो बसेको शिव मूर्ति निर्माण गरी त्यसलाई १००८ शिवलिङ्गले घेर्ने योजना पनि अघि सारिएको छ।
वडाध्यक्ष खत्रीले सबै भक्तजन, शुभेच्छुक, संघसंस्था र स्थानीयवासीलाई धर्म र संस्कृति रक्षार्थ सहयोगको अपील गर्नुभएको छ। उहाँले भन्नुभयो, “सहयोग र समर्पणमार्फत हाम्रो सनातन धर्मको जगेर्ना हुनेछ।”