खानेपानी, सरसफाई तथा ढल व्यवस्थापन क्षेत्रमा दीगो विकास सुनिश्चित गर्न क्षेत्रीय, संस्थागत तथा अन्तर–निकाय समन्वय अपरिहार्य रहेको खानेपानी मन्त्री प्रदीप यादवले बताउनुभएको छ।
खानेपानी मन्त्रालय र अन्तर्राष्ट्रिय संस्था इसिमोडबीच भएको सहकार्य सम्झौता कार्यक्रममा बोल्दै मन्त्री यादवले खानेपानी मन्त्रालयले जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अत्यन्तै संवेदनशील सेवा प्रदान गरिरहेको बताउनुभयो।
“नागरिकलाई सुरक्षित पानी र सरसफाई प्रदान गर्न विभिन्न तह र निकायबीच समन्वय गर्न जरुरी छ,” मन्त्री यादवले भन्नुभयो, “यो सहकार्यले दीगो विकासका लक्ष्यहरू हासिल गर्न महत्वपूर्ण टेवा पुर्याउनेछ।”
उहाँले मन्त्रालय र इसिमोडबीचको सहकार्यले पहाडी र तराई क्षेत्रका समुदायहरूमा सुरक्षित, दिगो र गुणस्तरीय पानी तथा सरसफाई सेवा पुर्याउने साझा उद्देश्यसहित अघि बढ्ने स्पष्ट पार्नुभयो। साथै अनुसन्धान, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि तथा सूचनाको आदानप्रदानमा सहकार्यले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री यादवले जलवायु परिवर्तन र भूकम्पका असरले हिमालहरू कालो हुँदै गएका, तराई–मधेसमा भूमिगत जलस्रोत घट्दै गएको अवस्थालाई चुनौतीका रूपमा उल्लेख गर्दै सुरक्षित पानीको आपूर्तिमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
नेपाल–भारतबीच तथा खानेपानी मन्त्रालय र ऊर्जा मन्त्रालयबीच भएका पछिल्ला सहमतिहरूले पनि यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने मन्त्री यादवको भनाइ थियो।
कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले सहकार्य सम्झौताले सुक्दै गएका पानीका मुहानहरू पुनः सक्रिय गराउने र दीगो पानी व्यवस्थापनमा ठोस योगदान दिने बताउनुभयो।
सम्झौतापत्रमा मन्त्रालयका सहसचिव ई. मीना श्रेष्ठ र इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले हस्ताक्षर गर्नुभएको थियो। कार्यक्रममा सहसचिव ई. रमाकान्त दुवाडि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, इसिमोडका प्रतिनिधिहरू र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो।