मुख्यमन्त्री कँडेलद्वारा एक वर्षको कार्य प्रगति सार्वजनिक — OSNepal

मुख्यमन्त्री कँडेलद्वारा एक वर्षको कार्य प्रगति सार्वजनिक

LC (KTM) April 11, 2025 0

कर्णाली-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वार्षिक कार्य प्रगति सार्वजनिक गर्नुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उहाँले आफ्नो वार्षिक कार्य प्रगति सार्वजनिक गर्नुभएको हो ।

मुख्यमन्त्री कँडेलको एक वर्षको प्रगति विवरणमा दोस्रो पञ्चवर्षीय योजना, नौ कानुन, १३ कार्यविधि, दुई निर्देशिका निर्माणदेखि सुशासन कायमका साथै दश जिल्लाको भ्रमणलाई समेटिएको छ । जथाभावी बजेट वितरण, आफूखुसी रकमान्तर गर्ने र उपभोक्ता समितिले गर्ने बदमासी नियन्त्रण गरिएको उहाँले बताउनुभयो ।

सडक, बिजुली, खानेपानी तथा पुल निर्माणका क्षेत्रमा पछिल्लो एक वर्षको अवधिमा भौतिक पूर्वाधारतर्फ कर्णालीमा ९५ किलोमिटर कालोपत्र, २०५ किलोमिटर ग्राभेल, २३ पक्की पुल, ४२ झोलुङ्गे पुल र आठ सार्वजनिक भवन निर्माण भएको कुरा प्रगति विवरणमा उल्लेख छ । यस्तै, जनता आवास (सङ्घतर्फ) ६६१, प्रदेशतर्फ २३१ र ५६ विपन्नका घर निर्माण गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

साउन महिनामै बजेट कार्यान्वयनका लागि मातहतका निकायलाई नौबुँदे प्रतिबद्धता गराएअनुसार ७० प्रतिशत बढी अलपत्र आयोजनाको काम सुरु भएको र चालु आवको फागुन मसान्तसम्म १५ प्रतिशत विकास बजेट खर्च भएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । रणनीतिक महत्वका मूलपानी रानीघाट, ताल्चा–रारा–गमगढी, हुम्ला–मानसरोवर प्रवेशद्वार तथा से–फोक्सोण्डो सडक निर्माण कार्य सुरु गरिएको वार्षिक प्रगतिमा उल्लेख छ ।

मुख्यमन्त्री कँडेलले चैत मसान्तसम्म ३० प्रतिशत बजेट खर्च हुने जिकिर गर्दै वितरित योजनामा ९० प्रतिशत कार्यान्वयनमा गएकाले असार मसान्तसम्म अधिकांश आयोजनाले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँ २०८० चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर