चितवन — नेपाल युवा उद्यमी मञ्च (NYEF) चितवन च्याप्टरको आयोजनामा चितवनको भरतपुरमा मेड इन नेपाल एक्स्पो एण्ड फूड फेस्टिवल–२०८१ आयोजना हुने भएको छ। स्वदेशी उत्पादनको प्रवर्द्धन, युवाहरुलाई व्यवसायिक सीपमा सक्षम बनाउने उद्देश्यसहित हुने उक्त कार्यक्रम आगामी चैत्र २९ गतेदेखि बैशाख २ गतेसम्म क्याम्पा चौर, भरतपुरमा सम्पन्न हुने आयोजकले जनाएको छ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई औपचारिक रूपमा निमन्त्रणा दिइएको छ। मेयरको कार्यकक्षमा भएको भेटघाटका क्रममा NYEF का पदाधिकारीहरूले निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए।
“स्वदेशी उत्पादन, समृद्ध राष्ट्रको आधार” भन्ने नारासहित आयोजना गरिँदै गरिएको यो एक्स्पोले नेपाली उत्पादन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। मेयर दाहालले NYEF को पहलको प्रशंसा गर्दै आफू कार्यक्रमप्रति सकारात्मक रहेको प्रतिक्रिया दिइन्।
मञ्चका अध्यक्ष उमेश श्रेष्ठका अनुसार, एक्स्पोमा करिब १०० भन्दा बढी स्टल रहने छन्, जसमा नेपाली अचार, मह, घरेलु उत्पादन, स्वदेशी कपडा, जुत्ता, झोला, मसला, हस्तकला, प्रविधि, र अन्य विलासी तथा रोजगारी सिर्जना गर्न सक्ने सामग्रीहरू समेटिने छन्।
पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीका अनुसार, कृषि, निर्माण, फूड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी, र इनोभेसन जस्ता विविध क्षेत्रका उद्यमहरूको सहभागिता रहनेछ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा दैनिक राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति हुने छ भने साँझ ५ बजेदेखि ९ बजेसम्म ग्रान्ड फूड फेस्टिवल सञ्चालन हुनेछ, जसमा नेपालका विभिन्न क्षेत्रीय भान्साका मौलिक स्वादहरू प्रस्तुत गरिनेछन्। पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले बताएअनुसार फूड फेस्टिवलको अवलोकन नि:शुल्क हुने भए पनि सांगीतिक प्रस्तुति हेर्नका लागि रु. ३०० र रु. ५०० को टिकट अनिवार्य गरिएको छ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो नि:शुल्क अवलोकन गर्न सकिनेछ।