प्रकाश सपुत निर्देशित ‘वसन्त’ प्रदर्शनमा, ‘मोटर’ गीतले थपेको उत्साह — OSNepal

प्रकाश सपुत निर्देशित ‘वसन्त’ प्रदर्शनमा, ‘मोटर’ गीतले थपेको उत्साह

Kesh Karki (USA) April 09, 2025 0

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ देश तथा विदेशमा एकसाथ प्रदर्शन भइरहेको छ। सशक्त कथा, सामाजिक यथार्थ चित्रण र उत्कृष्ट वर्ड अफ माउथका कारण फिल्मले सकारात्मक चर्चा बटुलिरहेको छ।

यसैबीच, मंगलबार सिनेमामा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ। कथा वाचन शैलीमा प्रस्तुत गरिएको यस गीतमा निर्देशक स्वयं प्रकाश सपुत र कलाकार खड्क बहादुर पुन (खबपु) फिचर्ड छन्। गीतमा सपुतकै स्वर, शब्द र संगीत रहेको छ भने योगश काजी शाहले एरेञ्ज गरेका छन्।

सिनेमाको टोलीले काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा विशेष स्क्रिनिङको आयोजना समेत गरेको थियो। कार्यक्रममा अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई, नृत्य निर्देशक शंकर बिसी, गायक तथा संगीतकार खेम सेञ्चुरी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विशेष स्क्रिनिङपछि प्रतिक्रिया दिँदै केकी अधिकारीले भनिन्, “समाजमा अझै पनि वर्गीय, जातीय र अन्य विभिन्न खाले विभेदहरू व्याप्त छन्। प्रकाश सपुतका हरेक सिर्जनामा यथार्थ समाज झल्किन्छ। ‘वसन्त’ पनि त्यस्तै चलचित्र हो, र यसमा सानो भूमिका गर्न पाउनु मेरो लागि गर्वको कुरा हो।”

चैत २२ गते शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, र विशाल पहारीको अभिनय रहेको छ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सोसल ड्रामा चलचित्रको कथा, पटकथा र संगीत निर्देशक सपुत स्वयंले तयार गरेका हुन्। सिनेमा एक विपन्न विश्वकर्मा समुदायका युवाको लेखक बन्ने सपना र संघर्षमा केन्द्रित छ।

मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता रहेका चलचित्रका कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्। फिल्मको छायांकन सुसन प्रजापतिले गरेका हुन्, जसमा बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थान समेटिएका छन्।

‘वसन्त’ नेपाली समाजको यथार्थ, संघर्ष र सपना बोकेको चलचित्रका रूपमा दर्शक र समीक्षक दुबैबाट तारिफ बटुल्दै अघि बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *