अन्ततः रवि लामिछाने कारागार चलान, भैरहवाको ब्लक नम्बर ४ मा एक्लै राखियो — OSNepal

अन्ततः रवि लामिछाने कारागार चलान, भैरहवाको ब्लक नम्बर ४ मा एक्लै राखियो

Kesh Karki (USA) April 08, 2025 0

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका लागि भैरहवास्थित जिल्ला कारागार चलान गरिएको छ। लामिछानेलाई स्वास्थ्य परीक्षणपछि कारागारको ब्लक नम्बर ४ मा एक्लै राखिएको कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिएका छन्।

प्रशासक भण्डारीका अनुसार, सो ब्लकमा हाल लामिछाने मात्र रहेका छन्। आगामी दिनमा कैदीबन्दीको संख्या बढ्दै गए अन्यलाई पनि सो ब्लकमा राख्नुपर्ने हुन सक्ने उनले बताए। हाल भैरहवा कारागारमा ५९४ जना कैदीबन्दी छन्।

लामिछानेलाई कारागार चलान उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश अनुसार गरिएको हो। सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर उच्च अदालतले सो आदेश उल्टाउँदै थुनामा पठाउने निर्णय सुनाएको हो।

कारागार चलानपछि लामिछानेले आफ्ना निकट व्यक्तिहरूलाई चारवटा भावुक सन्देश पनि पठाएको जनाइएको छ, जसमा उनले आफूप्रति विश्वास राख्न अनुरोध गर्दै कानुनी प्रक्रिया अनुसार सबै कुरा स्पष्ट हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि लामिछानेले यो मुद्दालाई षड्यन्त्रको संज्ञा दिँदै आफू निर्दोष रहेको जिकिर गर्दै आएका थिए। उनको पुर्पक्ष थुनाको निर्णयपछि राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको छ।

अब लामिछानेको मुद्दामा आगामी दिनमा न्यायालयबाट के निष्कर्ष आउनेछ भन्ने चासो सर्वत्र बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *