सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि सुरु, १६ प्रोफेसनल गल्फरबीच प्रतिस्पर्धा — OSNepal

सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि सुरु, १६ प्रोफेसनल गल्फरबीच प्रतिस्पर्धा

Kesh Karki (USA) April 08, 2025 0

काठमाडौं – सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौं संस्करणको सूर्य नेपाल एनपिजिए म्याच प्ले प्रतियोगिता मंगलबार (चैत २६) देखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ।

यो प्रतियोगितामा सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा छानिएका १६ जना प्रोफेसनल गल्फ खेलाडीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५० हजार रुपैयाँ रहेको छ।

उपाधि विजेताले ६० हजार, उपविजेताले ४२ हजार, तेस्रो स्थान प्राप्त गर्नेले ३२ हजार, चौथो हुनेले २४ हजार रुपैयाँ हात पार्नेछन्। क्वाटरफाइनलमा पराजित हुनेले जनही ११ हजार र पहिलो चरणमै हार्ने ८ खेलाडीले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

भोलिको खेल तालिका (र):

• भुवन नगरकोटी र पशुपति शर्मा

• निरज तामाङ र सूर्य प्रसाद शर्मा

• दिनेश प्रजापति र रमेश अधिकारी

• रवि खड्का र टंक बहादुर कार्की

• सञ्जय लामा र प्रदीप कुमार लामा

• जयराम श्रेष्ठ र तोरण बिक्रम शाही

• रामे मगर र दीपक मगर

• धन बहादुर थापा र भुवन कुमार रोक्का

नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी १६औं वरियताका पशुपति शर्मासँग भिड्नेछन् भने नम्बर दुईमा रहेका निरज तामाङले १५औं वरियताका सूर्य प्रसाद शर्मासँग पहिलो चरणको प्रतिस्पर्धा गर्नेछन्।

पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानका लागि हुने खेल १८ होलको हुनेछ भने फाइनल ३६ होलको हुनेछ। प्रतियोगिताको क्वाटरफाइनल र सेमिफाइनल बुधबार र फाइनल तथा तेस्रो स्थानको खेल बिहीबार सम्पन्न हुनेछ।

प्रोफेसनल गल्फर्स एशोसिएसन नेपाल (पिजिएन) का अध्यक्ष रविन्द्र मान श्रेष्ठले सूर्य नेपाल प्रा. लि. को निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “नेपालमा व्यावसायिक गल्फको वृद्धि र प्रवर्द्धनमा सूर्य नेपाल महत्त्वपूर्ण साझेदार रहँदै आएको छ। उनीहरूको प्रतिबद्धता बिना सूर्य नेपाल गल्फ टुरले आजको उचाइ हासिल गर्न सक्ने थिएन।”

श्रेष्ठले प्रतियोगिताप्रति उत्साह व्यक्त गर्दै देशमा गल्फको विकासमा सूर्य नेपालको समर्पणप्रति हार्दिक धन्यवाद पनि व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर