काठमाडौं – खानेपानी, सरसफाइ तथा सिँचाइमन्त्री प्रदीप यादवले धरानका नागरिकको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि मन्त्रालय गम्भीर रूपमा लागिरहेको बताउनुभएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा आज धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) को नेतृत्वमा पुगेको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि आगामी आर्थिक वर्ष २०८२/०८३ मा बजेट विनियोजन गर्न आग्रह गर्दै मागपत्र पेश गरेपछि मन्त्री यादवले यस्तो प्रतिक्रिया दिनुभएको हो।
मन्त्री यादवले भन्नुभयो, “धरानको खानेपानी समस्याका विषयमा म मात्र होइन, सिङ्गो मन्त्रालय जानकार छ। दीर्घकालीन समाधानका लागि मन्त्रालय र दातृ निकायको सहकार्यमा काम अघि बढाइनेछ।”
धरानको पानी समस्या पहिलेदेखि नै गम्भीर रहेको उल्लेख गर्दै उहाँले स्थायी समाधानका लागि नीति, योजना र बजेटको तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री यादवले स्थानीय तहसँग समन्वय गरेर ठोस योजनासहित समस्याको दीर्घकालीन समाधान गरिने आश्वासन दिनुभयो।
धरान नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले गर्मीयाम सुरु भएसँगै धरानमा पानीको काकाकुल अवस्था सिर्जना भएको र नागरिक अत्यन्तै पीडित भएको जानकारी गराउँदै भन्नुभयो, “पानीको समस्या पहिलेदेखि नै थियो, अहिले गर्मी सुरु भएपछि झन चर्किएको छ। त्यसैले स्थायी समाधानका लागि बजेटको माग गरेका हौँ।”
धरान उपमहानगरपालिकाको मागमा गम्भीर चासो दिँदै मन्त्रालयले यस विषयमा चाँडै ठोस निर्णय लिने बताएको छ।