अलपत्र विधेयकहरू चाँडै पारित हुन्छन् : मन्त्री गुप्ता — OSNepal

अलपत्र विधेयकहरू चाँडै पारित हुन्छन् : मन्त्री गुप्ता

Kesh Karki (USA) April 08, 2025 0

पर्सा – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले लामो समयदेखि संसदमा अलपत्र परेका महत्वपूर्ण विधेयकहरू अब चाँडै पारित हुने बताउनुभएको छ।

वीरगञ्जमा आयोजित नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्साको १४औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुप्ताले करिब एक दशकदेखि अड्किरहेका सङ्घीय निजामती सेवा र शिक्षा सम्बन्धी विधेयकमा अब अन्तिम निष्कर्षमा पुग्ने तयारी भइरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “ती विधेयकका करिब १ हजार ८ सय उप–दफाहरूमा दफावार छलफल भइसकेको छ, अबको संसद अधिवेशनबाट सङ्घीय निजामती सेवा, शिक्षा र नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक बहुमतले पारित हुनेछ।”

मन्त्री गुप्ताले वर्तमान राजनीतिक अवस्था प्रति संकेत गर्दै केही प्रतिक्रियावादी शक्तिहरू सक्रिय हुन थालेको उल्लेख गर्दै जनताले त्यस्ता शक्तिलाई चिन्नु र प्रतिकार गर्नु पर्ने बताउनुभयो। उहाँले प्रश्न गर्दै भन्नुभयो, “जो राजाले आफ्नै परिवार जोगाउन सकेनन्, उनले देश कसरी जोगाउने?”

उहाँले वर्तमान गणतान्त्रिक व्यवस्थाको विकल्प नरहेको स्पष्ट गर्दै राजतन्त्रबाट विकास सम्भव छैन भन्ने धारणा राख्नुभयो। “सामन्तवादको आधारमा टेकेको राजतन्त्र जनताले हटाएर लोकतन्त्र ल्याएको इतिहास हामीले बिर्सनु हुन्न,” मन्त्री गुप्ताले भन्नुभयो।

उहाँले राजदरबार हत्याकाण्डपछि क्रमबद्ध रूपमा शाहवंशीय राजतन्त्र समाप्त भइसकेको उल्लेख गर्दै हाल राजाको नाममा मैदानमा उत्रिने नेताहरूलाई लोकतन्त्र विरोधीको संज्ञा दिनुभयो। “कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन,” मन्त्री गुप्ताको कटाक्ष थियो।

कार्यक्रममा मन्त्री गुप्ताले शिक्षकहरूको भूमिकालाई पनि उल्लेखनीय बताउँदै शिक्षा क्षेत्रको सुधारमा सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर