तीनकुने घटनामा संलग्न थप ६ जना पक्राउ, संगठित आपराधिक गतिविधिमा संलग्नता देखिएको प्रहरीको दाबी — OSNepal

तीनकुने घटनामा संलग्न थप ६ जना पक्राउ, संगठित आपराधिक गतिविधिमा संलग्नता देखिएको प्रहरीको दाबी

Kesh Karki (USA) April 08, 2025 0

काठमाडौं – काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड, राज्यविरुद्धको कसूर, संगठित अपराध र आपराधिक उपद्रवमा संलग्न रहेको आरोपमा थप ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७८ साल चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा नवराज सुवेदीको संयोजन र दुर्गा प्रसाईको अगुवाइमा पूर्व अनुमति लिएर आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनको क्रममा आयोजक तथा सहभागीहरूले भिडलाई उचाल्दै निषेधित क्षेत्र तोडफोड गर्ने, प्रहरीमाथि ढु‌ङ्गामुढा गर्ने, आफ्नै गाडी चलाएर प्रहरीको ज्यान लिन खोज्ने, सुरक्षाकर्मीहरूलाई लाठी, फलामका रड, घरेलु हतियार प्रयोग गरी आक्रमण गर्ने जस्ता कार्यहरू गरिएको थियो।

घटनामा सुरक्षाकर्मीहरू घाइते भएका थिए भने केहीको हातहतियार समेत खोसिएको प्रहरीले जनाएको छ। साथै, सर्वसाधारणको घर, निजी सम्पत्ति, सञ्चार गृह रहेको भवन, विभिन्न राजनीतिक दलहरूको कार्यालय, नेताहरूको निजी निवास, अस्पताल, प्रहरी कार्यालय, व्यापारिक केन्द्र, नेपाल आयल निगमको इन्धन भण्डारण स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी पर्खालमा समेत तोडफोड, आगजनी गरिएको थियो।

सडकमा गुडिरहेका सरकारी तथा निजी सवारीसाधनहरूमा समेत आगजनी गरी आतंक फैलाइएको र पूर्व योजना अनुसार संगठितरूपमा अपराध गरिएकाले अनुसन्धानका क्रममा थप ६ जना प्रतिवादीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण यसप्रकार छः

१. अमित शाह, २२ वर्ष, जिल्ला सर्लाही कबिलासी–६, हाल ललितपुर टिकाथली

२. सुमन कार्की, १९ वर्ष, जिल्ला सुनसरी धरान, हाल काठमाडौं महानगरपालिका–३१

३. हेमराज थारु, ३४ वर्ष, जिल्ला बर्दिया बारबर्दिया नगरपालिका–२, जोहिगाउँ

४. दिवस बोगटी क्षेत्री, २७ वर्ष, जिल्ला धादिङ सिद्धलेक गाउँपालिका–४

५. अनिता कुँवर (ऐनी), ३० वर्ष, जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–१५

६. कुमार तामाङ, ३० वर्ष, जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर