काठमाडौं – चैत २६ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेकप्वाइन्टमा १९,२०० क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित एकजना पक्राउ परेका छन्।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ००१–०६ ख ५६९२ नम्बरको यात्रुवाहक बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाएर ल्याइएको अवस्थामा ट्रामाडोल बरामद गरिएको हो।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले चेकजाँच गर्दा बसका सहचालक सबिन कुमार महत्तो लागुऔषध ओसारपसारमा संलग्न देखिएपछि उनलाई पक्राउ गरिएको हो। महोत्तरी जिल्ला, गौसाला नगरपालिका वडा नं. १२ निवासी २७ वर्षीय महत्तोमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका महत्तोलाई लागुऔषधसहित नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको छ।