काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले शिक्षालाई देशको विकास, परिवर्तन र भविष्यको मूल आधार भएको भन्दै हाल सरकारले शिक्षा क्षेत्रप्रति देखाएको बेवास्ता र उदासीनताप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “सरकारको अदूरदर्शी दृष्टिकोण, शिक्षा नीति, ऐन, कानुन र व्यवस्थापन सम्बन्धी कार्यहरू शिक्षालाई दिशाहीन र गुणस्तरहीन बनाउँदैछ।” विज्ञप्तिमा शिक्षा क्षेत्रमा देखिएको विकृति, विसंगति, अस्तव्यस्तता र अन्योलतालाई अन्त्य गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ।
केही दिनदेखि शिक्षकहरूले आफ्ना माग राख्दै काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन्। पार्टीले उनीहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सरकारसँग तिनीसँग तत्काल वार्ता गरी न्यायोचित मागहरू स्वीकार गर्न आग्रह गरेको छ।
साथै, विज्ञप्तिमा शिक्षा सम्बन्धी नीति, योजना, ऐन, कानुन र कार्यक्रमहरूमा व्यापक समीक्षा गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ। पार्टीले शिक्षा क्षेत्रमा देखिएको समस्यालाई स्थायी समाधान गर्दै सबल र समान गुणस्तरीय शिक्षा सबैका लागि सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।