ललितपुर (गोदावरी), २५ चैत : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षा क्षेत्रमा देखिएको विकृति, विसङ्गति र अन्योलता अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै मुलुकको विकास, परिवर्तन र भविष्यको आधार शिक्षा भएको स्पष्ट पार्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “सरकारको अदूरदर्शी र त्रुटिपूर्ण नीति, ऐन, कानुन तथा व्यवस्थापनका कारण शिक्षा क्षेत्र गुणस्तरहीन र दिशाहीन बन्दै गएको छ ।” उहाँले वर्तमान अवस्थालाई गम्भीर रूपमा लिएर सुधारको माग गर्नुभएको हो ।
विगत केही दिनदेखि आफ्ना न्यायोचित मागसहित आन्दोलनरत शिक्षकहरूको पक्षमा उभिँदै अध्यक्ष यादवले सरकारलाई तत्काल वार्ता गरी समस्या समाधान गर्न सुझाव दिनुभएको छ । साथै शिक्षासम्बन्धी नीति, योजना, ऐन, कानुन र कार्यक्रमरूको समीक्षा गरी सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष यादवले सबै नागरिकलाई समान गुणस्तरीय शिक्षा प्रत्याभूत गर्ने नीति अवलम्बन गर्न सरकारलाई आह्वान गर्दै शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने बताउनुभयो ।