काठमाडौं – नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विद्यालय शिक्षा ऐन तत्काल पारित गर्न सरकारसँग जोडदार माग गरेको छ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा शिक्षा क्षेत्रमा गुणात्मक सुधार आजको आवश्यकता भएको उल्लेख गर्दै शिक्षकहरूको पेशागत सुरक्षा सुनिश्चित गर्न ऐन जारी गर्नु अपरिहार्य भएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “संविधानले तोकेको शिक्षाको मौलिक हक सुनिश्चित गर्न कानुनी र नीतिगत संरचना आवश्यक छ। विद्यालय शिक्षा ऐन बिना संघीयताको मर्मअनुरूप शैक्षिक क्षेत्रको पुनर्संरचना हुन सक्दैन।”
वर्तमान सरकारको उदासीनता र गैरजिम्मेवार व्यवहारप्रति आलोचना गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारमाथि विद्यालय शिक्षा विधेयकलाई बेवास्ता गर्दै हजारौं शिक्षक र लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएको छ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको तत्कालीन सरकारले शिक्षक महासंघसँग २०८० असोज ५ र १२ गते गरेका ५ बुँदे तथा ६ बुँदे सहमतिअनुसार विधेयक तयार गरी संसदमा दर्ता गरिएको भए पनि अहिलेको सरकारले त्यसलाई अगाडि नबढाएको उल्लेख गरिएको छ।
प्रवक्ता सापकोटाले विशेष अधिवेशन वा अन्य विधिबाट भए पनि ऐन तुरुन्त पारित गरी आन्दोलनरत शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी निर्वाह गर्न सक्ने वातावरण बनाउन सरकार र सरोकारवाला सबै पक्षसँग हार्दिक अपिल गरेका छन्।
साथै, माओवादी केन्द्रले शिक्षकहरूको जायज मागप्रति ऐक्यवद्धता जनाउँदै आम जनसमुदायलाई पनि आन्दोलनको पक्षमा उभिन आग्रह गरेको छ।